PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कांग्रेस महामन्त्री विश्वप्रकाशका मुद्दा : मिडियाका लागि 'वाचडग'का रुपमा उभिने, सामाजिक रुपान्तरणको विषयलाई काँधमा बोक्ने



कांग्रेस महामन्त्री विश्वप्रकाशका मुद्दा : मिडियाका लागि 'वाचडग'का रुपमा उभिने, सामाजिक रुपान्तरणको विषयलाई काँधमा बोक्ने

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफू महामन्त्रीका रुपमा रहँदा प्रेस स्वतन्त्रताको विषयमा गम्भीर बन्ने प्रतिक्रिया दिएका छन्। सोमबार कांग्रेस बिटमा सामाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन्।

आफू मिडिया क्षेत्रबाट राजनीतिमा आएको उल्लेख गर्दै मिडियाका लागि वाचडगको भूमिकामा देखिने गरी उभिने दाबी शर्माले प्रस्तुत गरे। 'विश्वप्रकाश शर्मा मिडियाजगतबाटै आएको मान्छे हो। पञ्चायतदेखि लेख्दै आए। सम्पादक भए। पछिल्लो समय टेलिभिजन प्रस्तोताका रुपमा देखिए,' महामन्त्री शर्माले भने।

तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालेकाका उनले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। कुनै देशमा प्रजातन्त्र छ कि छैन भन्ने कुराको पहिचान नै मिडिया भएको उनको भनाई थियो।

'नेपालको प्रेस स्वतन्त्रताको विषयमा गम्भीर बन्नुपर्छ। संसारभरका देशमा प्रजातन्त्र छ कि छैन भन्ने कुरालाई पहिचान गर्न कुरा के हो भने त्यो देशमा दलगत प्रतिस्पर्धा छ कि छैन भन्ने हो र दलगत प्रतिस्पर्धा भइसकेपछि पनि त्यहाँ डेमोक्रेसी छ कि छैन भन्ने मानक के हो भने त्यो देशको मिडियाले निर्भयतापूर्वक लेख्न पाउँछ कि पाउँदैन भन्ने हो,' शर्माले भने, 'त्यसकारणले गर्दा म महामन्त्री हुँदै गर्दा नेपाली कांग्रेसको सरकारले संविधानले प्रत्याभुत गरेको कुनै पनि विषयलाई कहिले पनि कुण्ठित गर्ने छैन। गर्न नदिनका लागि तपाईहरुको प्रतिनिधिको रुपमा वाचडगको भूमिकाका विश्वप्रकाश शर्मा पार्टीको महामन्त्रीको रुपमा अलवेज उभिन्छ।'

त्यसैगरी शर्माले आफू सामाजिक रुपान्तरणको विषयलाई काँधमा बोक्ने बताए। 'देश बन्ने भनेको बाटो बन्ने र बिजुली बल्ने मात्र हैन। संघीयता र गणतन्त्रमात्र हैन। अहिले यो देशले सबभन्दा गम्भीरता पूर्वक राजनीतिक दलहरुले बोक्नुपर्ने अर्को विषय सामाजिक रुपान्तरणको विषय हो। हामीले काँधमा बोक्नै पर्ने विषय सामाजिक रुपान्तर हो,' महामन्त्री शर्माले भने।

यस्तो विषय अन्त्य गर्नु सबैको साझा दायित्व भएकोसमेत उनको भनाई थियो। 'देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ। समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो। यसलाई प्रधान रुपमा मैले उठाउँदै गरेको छु,' महामन्त्री शर्माले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell