वीरगंज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पर्सा आउने भएका छन्। पुस ८ गते पर्साको जगरनाथपुरको पशु बजारमा आयोजना हुने आमसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा तत्कालिन नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गर्न लागेका जालिम मियाँ तथा अन्य नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराई स्वागत गर्ने कार्यक्रम पनि रहेको एमाले पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिए।
‘लामो समयपश्चात अध्यक्षज्यूको पर्सामा आगमन भइरहेको छ, जगरनाथपुरमा रहेको पशु बजारको जग्गामा मञ्च बनाउने तथा अन्य तयारी तीव्र पारिएको छ’, उनले भने, ‘करिब एक लाख जनता उतार्ने तयारी राखिएको छ।’
जिल्ला कमिटी विस्तार
पर्साको जिल्ला कमिटी विस्तार गरिएको छ। वीरगंजमा आज सम्पन्न जिल्ला बैठकबाट पहिलेको ११० जना र हालको ७५ जना थप गरी कुल १८५ सदस्यीय जिल्ला समिति विस्तार गरिएको हजराले बताए।
एमाले पर्साको जिल्ला अध्यक्ष र ईन्चार्जमा प्रभु हजरा, उपाध्यक्षमा डा विश्वभर शर्मा, सचिव मनोज गुप्ता, सहसचिवमा गोकर्ण पाठकलगायत रहेका छन्। जिल्लाको सहइन्चार्जमा निर्मला देवकोटा, राजकुमार गुप्ता, अरिविन्द गुप्ता गरी तीन जना रहेका छन्।
जगरनाथपुर गाउँपालिकाका अध्यक्षलाई पनि पार्टी प्रवेश गराई जिल्ला कमिटीमा स्थान दिइने आन्तरिक तयारी छ। त्यसैगरी, जगरनाथपुर-५ का वडा अध्यक्ष रामअयोध्या कुर्मीले जसपाबाट लोसपा हुँदै एमालेमा प्रवेश गरेकोमा उनलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ।