PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय पञ्चायतका उपाध्यक्ष दावाफिन्जो तामाङको जीवनी किताबमा



राष्ट्रिय पञ्चायतका उपाध्यक्ष दावाफिन्जो तामाङको जीवनी किताबमा

काठमाडौं : विसं २०३८ मा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष रहेका दावाफिन्जो तामाङको जीवनीमा आधारित किताब 'दावाफिन्जो तामाङ : भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म' सार्वजनिक भएको छ।

ताम्सालिङ नलेज सेन्टरले बुधवार बिहान काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा एक कार्यक्रम आयोजना गरी किताब सार्वजनिक गरेको हो।

लामागुरु रिम्पोचे काल्साङ लामा, पूर्व राजदुत डा गणेश योञ्जन, समाजशास्त्री डा मुक्तसिंह थोकर, भाषाविद् अमृत योञ्जन, वाग्मती प्रदेश सभाका सदस्य प्रभात लामालगायत किताब सार्वजनिक गरेका हुन्।

किताब सार्वजनिकपछि दावाफिन्जो एक एतिहासिक व्यक्ति भएकोले किताबका लागि योग्य भएको सेन्टरका संयोजकसमेत रहेका तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए। एक भेडी गोठालो संघर्ष गर्दै राष्ट्रिय पञ्चायतको अध्यक्ष बन्नु नै प्रेरक विषय भएकोले आफूहरुले किताब प्रकाशन गरेको उनको भनाई रह्यो। रसुवालाई सुगम बनाउन दावाफिन्जोले धेरै समय खर्चेको गोलेले बताए।

किताबका लेखक खोजराज गोलेले किताबमा दावाफिन्जोको राजनीतिक जीवनमात्र नभई सांस्कृतिक र राजनीतिक जीवनसमेत समेटिएको बताए। भाषाविद् अमृत योञ्जनले धेरै विषय किताबमा उठान गरिएको उल्लेख गरे। संघीयतापछि दावाफिन्जोले जन्माएको पुस्ताले रसुवामा तामाङ भाषामा गाउँपालिकाको नाम नराखेकोमा भने चित्त दुखाए। 'रसुवाको पछिल्लो पुस्ताप्रति थोरै चित्त दुखाई के छ भने आफ्नो गाउँपालिकाको नामसमेत तामाङ भाषामा राखिएन। दावाफिन्जो तामाङले जन्माएको पुस्ता अझ दावाफिन्जोभन्दा माथि आउनुपर्थ्यो,' योञ्जनले भने, 'गाउँपालिकाको नाम तामाङ राख्न सक्ने पुस्ता अब रसुवाले जन्माउन सकोस्।'  

किताबको कभर फोटोले नै दावाफिन्जोको सालिन व्यक्ति झल्किएको डा मुक्तसिंह थोकरको भनाई रह्यो। किताबमा राणाकालदेखि पछिल्लो राजनीतिक विषयहरु समेटिएको उनले बताए। पूर्वराजदूत डा योञ्जनले दावाफिन्जो आफै इतिहास भएको बताए। नलेज सेन्टरका सञ्चालक जगतमान दोङ तामाङले पाइपलाइनमा थप किताब प्रकाशनको क्रममा रहेको जनाए।   

सेन्टरले प्रकाशन गरेको किताबका लेखक खोजराज गोले र पेमा मोक्तान तामाङ हुन्। ४०० पृष्ठको किताबको मुल्य ६०० रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell