PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कोरोनाले ओमनमा थलिएकी एक नेपाली महिलालाई एयर-स्ट्रेचरको व्यवस्था गरी ल्याइयो नेपाल



कोरोनाले ओमनमा थलिएकी एक नेपाली महिलालाई एयर-स्ट्रेचरको व्यवस्था गरी ल्याइयो नेपाल

काठमाडौं : ओमनबाट एक नेपाली महिलालाई एयर-स्ट्रेचरको व्यवस्था गरी नेपाल फिर्ता गरिएको छ। ओमनस्थित नेपाली दूतावास र एनआरएनए ओमानको संयोजन र सहयोगमा बुधवार ति महिलालाई नेपाल फिर्ता गरिएको हो।

ओमनमा घरेलु कामदारको रूपमा कार्यरत ति महिलालाई गत बैशाख २५ गते कोभिड-१९ को संक्रमण भई सलालास्थित सुल्तान काबुस अस्पतालमा भर्ना भएकी थिइन्। उनी पोस्ट-कोभिड-निमोनिया र त्यसमा थप संक्रमणहरू भइ अर्ध-प्यारालाइसिस समेत भएर अस्पतालमा थलिएको दूतावासले जानकारी दिएको छ।

उनलाई खानासमेत नाकबाट पाइपको सहाराले दिइरहेको थियो भने दिसा-पिसाब समेत अतिरिक्त थैलीमा व्यवस्थापन गर्ने गरिएको थियो। उनी विगत ७ महिनादेखि अस्पतालमा उपचाररत् रहेकोमा गत ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो।

नेपालमा उनका परिवारका छोरी-ज्वाईंसँग सल्लाह गरी नेपाल ल्याउने सहमति अनुसार उनको यात्रा समन्वय गरिएको दूतावासको भनाइ छ। उनलाई सलालाबाट मस्कटसम्म ओमान एयरको विमानबाट तथा मस्कटदेखि काठमाडौंसम्म सलाम एयरको विमानबाट स्ट्रेचरको व्यवस्था गरी नेपाल ल्याइएको छ।

उनलाई नेपाल ल्याउन करिब ९ लाख ८८ हजार ३१६ खर्च लागेको र उनका छोरी-ज्वाईंले ३ लाख १२ हजार ६५० व्यहोरेको बताइएको छ। थप रकम नेपाली दूतावास र एनआरएनएको संयोजनमा जुटाइएको थियो।

साथै, डिसेम्बर १९ मा लण्डनबाट नेपाल आउदा उडानको क्रममै अकस्मात् मृत्यु भएकी एक नेपाली महिलाको शव तथा उनीसँगै यात्रामा रही मस्कटमा रोकिएका परिवारका अन्य सदस्यहरूलाई समेत सहजीकरण गरी सोही उडानबाट नेपाल ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell