चीनको सियान शहरमा फेरि लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि १३ मिलियनभन्दा बढी जनसंख्या रहेको शहरमा मानिसहरुलाई घरमा नै बस्न निर्देशन दिइएको हो।
९ डिसेम्बरयता सियानमा १४३ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसैले हाल दैनिक लाखौंको संख्यामा शहरमा कोरोना परीक्षण हुँदै आएको छ।
बुधवार जारी नयाँ नियम अन्तर्गत एक घरबाट दुईदिनमा जम्मा एकजनामात्रै दैनिक उपभोग्य वस्तु किन्न जान पाउनेछन्। अत्यावश्यक कामका लागि बाहेक कसैलाई पनि बाहिर निस्कन स्थानीय अधिकारीहरुको स्वीकृति चाहिन्छ।
विश्वभर ओमोक्रन संक्रमण फैलिरहँदा चीनले संक्रमणको 'आउटब्रेक' हुन रोक्न 'जिरो कोभिड स्ट्राटिजी' अपनाएको छ। सन् २०२२ को फेब्रुअरीमा चीनमा हुने तय भएको 'विन्टर ओलम्पिक'लाई मध्यनजर गर्दै चीन 'हाइ अलर्ट'मा छ।