PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

कोरोना त्रासका बीच बुटवलमा औद्योगिक व्यापार मेला शुरू



कोरोना त्रासका बीच बुटवलमा औद्योगिक व्यापार मेला शुरू

बुटवल : कोरोना संक्रमणको त्रासका बीच बुटवलमा चौँथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरू भएको छ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ उद्योग व्यापार संघ बुटवलको आयोजनामा बिहीवारदेखि देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्। मेला उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले पूर्वाधार विकासले सम्पन्न भएका कारण बुटवल उपमहानगर लगानीमैत्री शहर बनेको बताए।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रबिना मुलुकको  आर्थिक  विकास र समृद्धि  सम्भव नहुने  भएकाले राष्ट्रिय पूँजीमार्फत औद्योगिकरण र व्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताए।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले बुटवलका मुख्य ४ वटा व्यावसायिक संघसंस्थामध्ये उद्योग व्यापार संघ कान्छो भएपनि जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा अरु पुराना संस्थाभन्दा कम नभएको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारले भेदभाव र पक्षपात गर्न नहुने र गरेमा स्वीकार्य नहुने बताए।

मेला आयोजक संघका अध्यक्ष गोबिन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्दै राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने माग गरे।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै मेलामा उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यान दिन सुझाव दिए।

पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन्। मेला अवधिभर  करिब ५० करोड कारोबार हुने अनुमान गरिएको संघका महासचिव पदम जिसीले जानकारी दिए।

मेला उद्घाटनअघि ३४ वटा संघसंस्थाको सहभागितामा देवीनगर चौपारीबाट मेलास्थलसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो। मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, निःशुल्क दन्त शिविर, रक्तदान, लोकदोहोरी गायनलगायतका आकर्षण रहेका छन्।

कोरोना संक्रमणको जोखिमका बीच मेला आयोजना गरिएकोले मेलाका अवलोकनकर्ता र अतिथिहरुले अटोमेटिक टनेलबाट स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गरेर मात्र प्रवेश गर्न पाउने प्रचारप्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell