PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एसएसपी यादव मृत्यु प्रकरण : प्राविधिक टिमबाट अनुसन्धान शुरू



एसएसपी यादव मृत्यु प्रकरण : प्राविधिक टिमबाट अनुसन्धान शुरू

बुटवल : शुक्रवार बिहान भैरहवास्थित आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा मृत फेला परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको मृत्युबारे प्राविधिक टिमले अनुसन्धान शुरू गरेको छ।

यादव संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत रहेका थिए। शुक्रवार साँझ मृतक यादवकी श्रीमती काठमाडौंबाट भैरहवा आइपुगेपछि मात्रै प्रहरीले उनको शव रहेको कोठाको ढोका खोलेको हो।

अहिलेसम्म यादवको मृत्युको कारण खुलेको छैन। यसबारे प्राविधिक टिमबाट अनुसन्धान शुरु भइसकेको रुपन्देही प्रहरीले जनाएको छ।

सानो प्वालबाट मात्रै उनी झुण्डिएको देखिएको थियो। पत्नी र छोरा नआई ढोका नखोल्ने र अनुसन्धान प्रक्रिया पनि शुरू नगर्ने भएपछि प्रहरी दिनभर बाहिर कुरेरै बसेको थियो।

शुक्रवार बिहान १० देखि १२ बजेको बीचमा घटना घटेको भएपनि प्रहरीको उच्च तहको घटना भएकाले गृह मन्त्रालय या प्रहरी हेडक्वार्टरबाट पनि स्वीकृति लिनुपर्ने भएकाले ढिलाइ भएको प्रहरीको भनाइ छ।

नवलपरासीको रामग्राम नगरपालिका-२ निवासी यादव ५५ वर्षीय उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लागेका थिए। प्रहरी प्रधान कार्यालयको एक वर्षअघिको बढुवा सूचीबाट उनको नाम छुटाइएको थियो। यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापालगायतका ब्याचमेट हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell