PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ए डिभिजन लिग : आज दुई खेल हुँदै



ए डिभिजन लिग : आज दुई खेल हुँदै
File Photo

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ।

हिमालयन शेर्पा क्लब ५ खेलबाट १ जित, २ बराबरी र २ पराजय व्यहोर्दै ५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ।

हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले रेलिगेशन क्षेत्रबाट आफूहरु टाढा नभएकोले जोखिम कायमै रहेको बताए।

'पाँचौं म्याचसम्म आउँदा च्यासल र हाम्रो हेर्दा दुवै टीम रेड जोनभन्दा बाहिर छैनौं। विगतका त्रुटीहरु हेरेर गर्नुपर्ने कामहरु गरिसकेका छौं,' प्रशिक्षक राईले भने, 'टेबलमा जस्तो भए पनि स्कोरको आवश्यक छ। अब केटाहरुले स्कोर गर्छ भन्ने छ। पर्फमेन्समा राम्रै छ। पाँच म्याचमा पाँच गोल गरेका छौं।'

त्यस्तै समान खेलबाट तीन पराजय, १ बराबरी र १ जित निकालेको च्यासल युथ क्लब ४ अंक जोड्दै १३ औं स्थानमा छ। रेलिगेशन क्षेत्रबाट माथि उठ्नका लागि च्यासलका लागि आजको खेलबाट अंक लिनु महत्वपूर्ण हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा अंकतालिकाको शीर्ष दुईमा रहेका मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लब भिड्नेछन्।

मनाङले ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको छ। त्यस्तै मछिन्द्रले ३ जित र २ बराबरी खेल्दै ११ अंक जोडेको छ। यी दुवै टोलीलाई एएफसी कप छनोट खेल्नका लागि पनि आजको म्याच कोषेढुंगा हुने देखिन्छ।

'जित्नै पर्ने दबाब छ। यसअघिको खेलमा ड्र गरेका कारण जित्नै पर्ने दवाब थपिएको छ,' मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले भने, 'मौका अझै छ। बेस्ट प्लेयर त छ तर इन्ज्युरी पनि छ।'

त्यस्तै मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक टोफे फुजाले दुवै टीमलाई दवाब हुने बताए। 'जितका लागि। हामी सबै टिमलाई सम्मान गर्छौं। हामीले सुधार गर्दै आएका छौं।' फुजाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell