काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपालको आन्तरिक मामिलाका फैसला नेपालले नै गरे राष्ट्रियता बलियो हुने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले नयाँ नेपाल निर्माण गर्ने मान्यता के हो? वृहत छलफलको आवश्यकता भएको बताए। नेपालको इतिहास अगाडि बढिसकेको भन्दै उनले अब पछाडि फर्कन नसक्ने बताए।
उनले भने, ‘पार्टी चलाउनका लागि विधि चाहिन्छ। देश चलाउन संविधान चहिन्छ, पालना भएन भने भद्रगोल हुन्छ। एउटा विद्वान मानिसले किताब लेख्नु भएको छ- ह्वाइ नेसन फेल? यसको कारण नेता विधिको पालना गर्न चाहँदैनन्।’
मन र भावना मिलेपछि बाँकी कुराहरु पनि मिल्दै जाने उनले बताए। नेता र दलहरु जनताको पीडा र वेदना सम्बोधनमा केन्द्रित हुनु पर्ने उनको भनाइ थियो। जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने उनले बताए।
‘राष्ट्रियतका सवालमा हाम्रो विमति छैन। कुनै एक व्यक्तिको तानाशाह हामीलाई स्वीकार्य छैन। कहिले कुनै वंशको तानासाहा हुन्छ कहिले कोहि व्यक्तिको,’ उनले भने।
त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन र संदद्मा रहेका दलमा वृहत बहस गराउन आग्रह समेत गरे। उनले शोषणको अन्त्य हुनै पर्ने भन्दै जनताले गास बास पाउनै पर्ने बताए। नेपाललाई अगाडि बढाउने पर्याप्त स्रोत साधन रहेको उनको भनाइ थियो।