PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

निषेधाज्ञामा पनि तोडफोडमा उत्रिए सीके राउतका कार्यकर्ता, राजमार्ग रोकेपछि प्रहरीसँग घम्साघम्सी



सुमित मिश्र

निषेधाज्ञामा पनि तोडफोडमा उत्रिए सीके राउतका कार्यकर्ता, राजमार्ग रोकेपछि प्रहरीसँग घम्साघम्सी
तस्बिर : सन्तोष यादव

जनकपुरधाम : सिरहाको मिर्चैयामा निषेधाज्ञा तोडेर जनमत पार्टीका कार्यकर्ताहरु प्रदर्शन गरेका छन्। सीके राउत नेतृत्व जनमत पार्टीले केही दिनदेखि तोडफोड सहित आमहड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

मिर्चैयामा निषेधाज्ञा उल्लंघन गर्दै जनमतका कार्यकर्ता प्रदर्शनमा उत्रेपछि राजमार्ग अवरुद्ध बनेको छ। प्रदर्शनकारीले टायर बालेर राजमार्ग र अन्य सडक अवरुद्ध गरेका हुन्। प्रहरी भने राजमार्ग खुलाउने प्रयासरत छ। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच घम्‍साघम्सी परेको थियो।

पुस १३ र १४ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म स्थानीय प्रशासनले कुनै पनि भेला, राजनीतिक सभा र हिँडडुलमा समेत निषेध गरेको छ।

सिरहाको औरही गाउँपालिकाले किसानमाथि दर्ता गराएको मुद्दा खारेज गर्नुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिद्वार्थ यादवले गरेको भ्रष्टाचारमाथि छानविन हुनुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने माग राख्दै जनमत पार्टीले केही दिनदेखि सिरहामा प्रदर्शन गर्दै आएको छ।

स्थानीय प्रशासनले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्म राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिणको ५ सय मिटर आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यस्तै चोहर्वादेखि सिरहा सडक खण्डको पीके राव इन्टरप्राइजेज तथा सो मार्गको ५ सय मिटर पूर्व पश्चिम पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell