PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मौसम प्रतिकूल भएसँगै आन्तरिकतर्फका उडान प्रभावित : ४ घण्टा डिलेको सम्भावना, केही रद्द हुनसक्ने



मौसम प्रतिकूल भएसँगै आन्तरिकतर्फका उडान प्रभावित : ४ घण्टा डिलेको सम्भावना, केही रद्द हुनसक्ने

काठमाडौं : मंगलबार रातिबाट सुरु भएको वर्षासँगै मौसम प्रतिकूल भएपछि आन्तरिकतर्फका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसमी प्रतिकूलताका कारण बुधबार बिहान लुक्ला, भैरहवा, नेपालगन्ज लगायतका नियमित उडान प्रभावित भएका छन्।

बिहान बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, समिट, सिता लगायत वायुसेवा कम्पनीको नियमित उडान नै प्रभावित भएको प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। बिहानैदेखि उडान प्रभावित भएपछि आज साँझसम्म चार घण्टासम्म उडान डिलेको सम्भावना रहेको उनले जानकारी दिए।

यतिखेर मौसम प्रतिकूलताका कारण लुक्ला, पोखरा, भैरहवा, नेपालगञ्ज लगायतका गन्तव्यमा उडान हुन सकेको छैन।

'आइएफआर अन्तर्गत उडान अवतरण भइरहेको छ। आज आन्तरिकतर्फको उडानमा डिले हुने सम्भावना देखिएको छ। यो स्वाभाविक पनि हो। यस्तै अवस्था हो भने बेलुकासम्म केही गन्तव्यका उडान रद्द पनि हुन सक्छन्,' प्रवक्ता ठाकुरले भने।

अन्तर्राष्ट्रियतर्फको उडान-अवतरणमा भने खासै प्रभाव नपरेको उनले बताए। बुधबार अन्तर्राष्ट्रियतर्फ ५५ र आन्तरिकतर्फ तीन सय वटाभन्दा बढी उडानको तालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell