PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

निम्स अर्थात् : नथिङ इज इम्पोसिबल



निम्स अर्थात् : नथिङ इज इम्पोसिबल

पर्वतारोहणको नाम आउँदा रेनल्ड मेस्नर कहिल्यै नछुट्ने। सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे साहसिक कदमका पर्यावाची रहे सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेपछि। त्यसपछि रेकर्ड कायम गर्ने होडबाजी जारी रह्यो। फरक फरक विधामा आफूलाई स्थापित गर्नेहरु कायम रहे। तिनैको भिडमा अलग पहिचान बनाए मेस्नरले। ८ हजारभन्दा माथिका १४ वटा हिमाल आरोहण गर्ने उनी एकमात्र थिए कुनैबेला। त्यसैले नेपालमा पर्वतीय गतिविधिबारे कुनै महत्वपूर्ण 'अनुष्ठान' हुँदा उनी छुट्थेनन्। पर्वातारोहणको एड्भेन्चरमा उनलाई कसैले उछिन्छ भन्ने आँकलन आफैँमा दुस्साहस थियो। नहोस् पनि किन पर्वतारोहणका अलावा उनले ८० भन्दा बढी त किताब नै लेखिसकेका थिए। उनीमाथि फिल्म बनिरहे - पटकपटक।

मेस्नरको कालजयी सफलतालाई कसैले उछिन्छ भन्ने कल्पना पनि गरिँदैन थियो कुनैबेला। तर, सबैलाई झड्का दिनेगरी स्थापित भयो 'नथिङ इज इम्पोसिबल'। फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल। झट्ट सुन्दा हलिउड फिल्मको सिरिज : मिसन इम्पोसिबल झै सुनिने। एड्भेन्चर रुचाउने नेटफिल्क्सका ग्राहकका लागि यो 'स्पोर्टस् मुभी' यतिखेर 'हट केक' बनिरहेको छ। गर्न नसकिने भन्ने केही पनि हुँदैन भन्ने स्थापित गर्नेहरुका लागि अद्‍भुत कथा बाचक बनेका छन् निम्स पुर्जा। विश्वको सबैभन्दा चर्चित मध्येको ओभर द टप (ओटीटी) प्लेटफर्मको सबैभन्दा शक्तिशाली माध्यममा सुनिन्छ नेपाली भाषा। देखिन्छ, नेपाली संस्कृति। अनि देखिन्छ निम्सको संघर्ष, साहस र प्रेमको कथा। त्यो कथा जसमा रेनल्ड मेस्नर पनि तरङ्गित बन्न पुग्छन्। उनले बनाएको १४ वटा हिमाल आरोहणको रेकर्ड जोसिलो कथा बोकेको एउटा ठिटोले ब्रेक गरिदिन्छ सात महिनामै। निम्सको 'पागलपन'को फ्यान बन्न पुग्छन् मेस्नर। हिमाल आरोहणका रेकर्ड फेरि घर फर्केको छ - निम्समार्फत्। मेस्नरजस्ता धेरै शेर्पाहरु छन् जसले हरेक वर्ष आफैँले बनाएका रेकर्डहरु आफैँ तोडिएरहेका छन्। उनीहरुकै भिडमा निम्सको महत्वकांक्षा डरलाग्दो छ। उनको हिम्मत या दुस्साहस अतुलनीय।

रेकर्डधारी हुनुको अर्थ यो पनि हो उनीहरु कुनै एक मुलुकको हुन्नन्। सगरमाथा चढेपछि तेन्जिङ नोर्गे भारतीय बने। निम्स बेलायती सेनाबाट निवृत्ती लिएर आरोहणतिर दौडिए। त्यसअघि भारतीय फौजी। यी त रहे भौतिक विश्वका दृश्य। अभौतिक संसारको गठजोड पनि व्यापक छ। विश्वव्यापीकरणको यो दौडमा ओटीटी प्लेटफर्मले जसरी सबैलाई जोडेको छ त्यसरी नै परिभाषित हुन आवश्यक छ - फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल। सामाजिक सञ्जालमाथि 'कडा व्यवहार' देखाउने चीनको नीतिगत निर्णयलाई पल्टाउनुले भन्छ - नसकिने के नै छ र? आरोहणका लागि वर्षौंदेखि बन्द गरिएको चिनियाँ हिमाल निर्मल पूर्जा र उनका टिमका लागि खुला हुनु - विश्वव्यापीकरणमा सोसल मिडियाको योगदान गजब उदाहरण बनेको छ। निम्सको चाहना छोटो अवधिमा १४ वटा ८ हजारभन्दा माथिका हिमाल चढ्नु थियो। तिनै हिमालमध्ये दुईवटा चीनमा थिए - वर्षौदेखि आरोहण बन्द गराएर राखिएका। सोसल मिडियामार्फत् निम्सका फ्यानहरु यसरी चिच्याए कि करिब करिब असफल आरोहण - सफल बनेरै छोड्यो।

निम्सको एउटा फोटो भाइरल भयो - सगरमाथामा लागेको ट्राफिक जामको। मानिसहरु माथितिर उक्लिन र तलतिर झर्न घन्टौं कुरिरहन परेको दृश्यले विश्वको ध्यान तान्यो। सगरमाथा कुनै मेला लागेको थलो झै देखियो। आफ्नो अभियानका क्रममा उनले सोसल मिडियामा पोस्ट गरेको त्यही फोटोले उनलाई अनायसै व्यापक बनाइसकेको थियो। सँगै छेडियो बहस - के यसरी आरोहण अनुमति दिइरहनु ठीक हो? दृश्य उनको सगरमाथा आरोहणकै बेलामा थियो।

एउटा हिमाल चढेलगत्तै अर्को हिमालतिर दौडिनु निम्सको साहस या दुस्साहस : यसै भन्न सकिन्न। हेलिकप्टरबाट सोझै बेस क्याम्पहरुमा ल्यान्ड हुनु र हतार हतार आरोहणतिर लाग्नु एड्भेन्चर कम, दुस्साहस ज्यादा अनुभूति हुन्छ। त्यही दुस्साहस गरे र त मेस्नरले पनि उनको कदमको ताली पिटेर स्वागत गरे, हिम्मत देखेर हात जोडे।

हिमालमा अक्सिजन सकिएर मृत्यु कुरिरहेका आफ्नै अक्सिजन दिएर बचाउन संघर्ष गर्नु। आफ्नो मिसन र स्वार्थलाई बिर्सेर ज्यान गुमाउन लागेका क्लाइम्बरको उद्धारमा लाग्ने उनको स्वभावले नेपाली र शेर्पाहरुको शिर थप चुल्याएका छन्। हिमाल आरोहण साहस र दुस्साहसको मात्र खेल होइन, प्रेम, स्नेह र समर्पणका भाव पनि हो - स्थापित भएको छ। हिम्मत हारेकाहरु निम्सको उपस्थितिमै तागतिला बनेर शिखरतिर दगुरेका दृश्यले सबैलाई भावुक बनाउँछ। उपचार गराइरहेकी आमाको आशिर्वाद थाप्दै चुमेको सफलता र छोराको सफलता पछि ज्यान गुमाएकी आमाको ममता त्यही एड्भेन्चरभित्र मर्मस्पर्सी रुपमा प्रकट हुन्छ। संवेदनाका भावहरु तरङ्गित हुन्छन्। निम्सले १४ वटै हिमाल सात महिनामा चढेर जित निकाल्दा यो फिल्म हेर्नेहरु आफैँले जितेको अनुभूतिमा डुब्छन्। त्यो जित मेस्नरले वर्षौं लगाएर हासिल गरेको मेहनतको प्रतिफलका रुपमा स्थापित हुन्छ। एड्भेन्चरमार्फत् एकपटक नेपालीको शिर उचालिन्छ। नेपाली संस्कृति विश्वबजारमा पुग्छ। बिच बिचमा आउने नेपाली संवादले यहाँको भाषालाई थोरै नै सही चिनाइदिन्छ।

नेटफिल्क्सले तयार पारेको फिल्ममा निम्स नै प्रमुख पात्र हुन्। प्रमुख क्यामरापर्सन पनि उनै। उनकै दृश्यहरुले समुन्द्र किनारादेखि मरभूमिमा रहेकाहरुलाई समेत हिमालको संघर्षसँग परिचित गराइदिन्छ। त्यहीँबाट प्रष्टफुटित हुन्छ - उपल्लो भेगका संघर्षका कथा। पग्लँदो हिमाल र त्यसले निम्तिँदै गरेको जोखिम पनि। आरोहण, हिम्मत र लगनशीलतासँगै प्रेममा निर्मलको कथा 'नथिङ इज इम्पोसिबल'ले सबैलाई एकपटक मन्त्रमुग्ध बनाएरै छोड्छ। अझ नेपालीलाई त एक पटक नेपाली भएकोमा गौरवान्वित पनि गराउँछ। त्यसैले भन्न सकिन्छ - डोन्ट मिस इट।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell