PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

तपाईँको हातको कफी भारतीय कि नेपाली?



तपाईँको हातको कफी भारतीय कि नेपाली?

  • शिशिर वैद्य –

कफी पिउँदै हुनुहुन्छ? तपाईंको हातमा भएको अमेरिकानो के शुद्ध हिमालयन अरेबिका कफीबाटै बनेको हो त? कि त्यो भारतीय कफी हो? कहिल्यै प्रश्न गर्नु भएको छ?

कफी आयातको तथ्याङ्कले हामीले पिउने कफी नेपाली नहुन सक्ने तथ्य देखाउँदैछ। किन भने आयातको तथ्याङ्कले नेपालको कफी बजारमा भारतीय कफीको हिस्सा नब्बे प्रतिशत भन्दा माथि पुगिसकेको देखाउँछ।

नेपाल चिया तथा कफी विकास बोर्डको विगत दश वर्षको तथ्यांक केलाउँदा नेपालले आयात गरेको कफीको अवस्था यस्तो देखाउँछ -

विश्वका विभिन्न मुलुकबाट भइरहेको आयातमा सबैभन्दा अधिक संख्या कफी भारतबाट हुने गरेको छ। २०२०/०२१ को कफी आयातमध्ये ९१ प्रतिशत कफी भारतबाट आयात भएको थियो। त्यस्तै, २०१९/०२० मा ९४ प्रतिशत, २०१८/०१९ मा ९९ प्रतिशत, २०१७/०१८ मा ८५ प्रतिशत, २०१४/०१५ मा ६८ प्रतिशत, २०१३/०१४ मा ६७ प्रतिशत कफी भारतबाट आयात भएको तथ्यांकहरुले देखाउँछ। कफी आयातको यति ठूलो हिस्सा भारतीय कफीले ओगट्नुले नेपालको कफी बजार भारतीय कफीमा निर्भर हुन थालेको स्पष्ट हुन्छ। भारत कफीको विश्वमै ठूलो उत्पादक तथा निर्यातकर्ता देश हो। कफी उत्पादक र निर्यातकर्ताको लहरमा विश्वका दश ठूला देशमा भारत पनि पर्छ। भारतको दाँजोमा विश्व कफी बजारमा नेपालको उपस्थिति निकै कमजोर छ। तर पनि भारतीय कफीमाथिको यो निर्भरता नेपाली कफी उत्पादनका लागि प्रत्युत्पादक नहोला भन्न सकिन्न। आयातित कफीले नेपाली कफी बजारमा पार्नसक्ने प्रभावका विषयमा खासै चर्चा र शोध भएको देखिँदैन। विगतमा नेपालका विभिन्न कृषि एवं गैह्र कृषि उत्पादनमा आयातित उत्पादनले पारेको नकारात्मक प्रभावलाई हामीले बिर्सनु हुँदैन।

नेपालको कफीलाई विश्व बजारमा स्पेसियालिटी कफीका रुपमा लिइन्छ। विश्व कफी बजारमा नेपालको उत्पादनको हिस्सा नगन्य छ। तर, प्रांगारिक पद्दतीबाट ८०० मिटरदेखि १६०० मिटरको उचाईमा उत्पादन हुने नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ्दै गएको छ। कृषकमाझ नगदे बालीका रुपमा बिस्तार हुँदै आएको नेपालमा कफी खेतीको शुरुवात सन् १९३८ मा गुल्मी जिल्लाको आँपचौरबाट भएको मानिन्छ। व्यावसायिक रुपमा कफी खेतीको शुरुवात सन् ८० को दशकमा भए पनि यसलाई सन् २००० देखिमात्रै नगदे बालीका रुपमा खेती गर्न थालिएको थियो। केन्द्रीय तथ्यांक विभागले गरेको व्यावसायिक कफी खेती सर्वेक्षण २०७५/०७६ का अनुसार गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोरखा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायत ३२ जिल्लामा व्यावसायिक रुपमा कफी खेती भइरहेको छ। विशेष गरि अरेविका वर्णको टिपिका र बर्बन जातका कफीको खेती गरिने यी जिल्ला बाहेक अन्य केही जिल्लामा कफी खेती भइरहेको छ। कफी सम्बन्धी विभिन्न अध्ययनले नेपालका ६२ जिल्लाको हावापानी कफी उत्पादनका लागि उपयुक्त रहेको देखाएको छ। त्यस्तै, नेपालका ७५३ पालिका मध्ये ४०५ पालिका कफी उत्पादनका लागि उपयुक्त रहेको पनि चिया तथा कफी विकास बोर्डको एक अध्ययनले देखाएको छ। बोर्डको पछिल्ला दश वर्षको तथ्यांक हेर्दा इलाम, स्याङ्जा, गुल्मी, नुवाकोट, पाल्पा, काभ्रेपलाञ्चोक, अर्घाखाँची, ललितपुर, तनहुँ, पर्वत, बाग्लुङ लगायत कफी उत्पादनमा अग्रणी भूमिका खेल्ने जिल्लामा पर्दछन्। नेपालका सम्पूर्ण जिल्लाहरुमा कफी उत्पादनमा आवद्ध किसानहरुको संख्या तीस हजारको हाराहारीमा पुगिसकेको छ।

कफी खेती बिस्तार हुँदै गए पनि नेपालको कफी उत्पादनले यहाँको कफी बजारको माग धान्न भने सकेको छैन। शहरी क्षेत्रमा खुलेका अनगिन्ती कफी सप अनि कफीका पारखीहरुको संख्यामा भएको बृद्धिसँगै कफीको माग ह्वात्तै बढेको छ। कफी व्यावसायीहरुका अनुसार नेपालमा वार्षिक ७ हजार मेट्रिक टन कफीको माग रहेको छ। तर उत्पादन भने वार्षिक सरदर ३ सय मेट्रिक टनमात्र रहेको छ।

नेपाल चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार सन् २०२०/२१ मा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो भने २०१९/२० मा २९६.५ मेट्रिक टन, २०१८/१९ मा ५३०, २०१७/१८ मा ५१३, २०१६/१७ मा ४६६, २०१५/१६ मा ४३४ मेट्रिक टन कफी उत्पादन भएको थियो। कूल उत्पादनको झण्डै २५ प्रतिशत कफी जर्मनी, जापान, अमेरिका, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया आदि देशहरुमा निर्यात हुने गरेको छ। २०१९/२० मा कूल ४६ मेट्रिक टन कफी निर्यात भएको थियो भने २०१८/१९ मा ८४ मेट्रिक टन, २०१७/१८ मा ९६ मेट्रिक टन, २०१६/१७ मा १११ मेट्रिक टन कफी निर्यात भएको थियो।

नेपालका मध्य पहाडी भेगमा उत्पादन हुने कफी र आयातित कफीको स्वाद फरक छ। तर, यो थाहा पाउने कफी पारखीहरु निकै थोरै छन्। विश्व बजारमा नेपाली कफी हिमालयन अरेबिका कफीका नाममा प्रवर्द्धन हुँदै आएको छ। स्पेशियालिटी कफीका रुपमा रुचाइएको नेपाली कफीको उत्पादन र विस्तारलाई वृद्धि गर्न सरकारले सन् २००३ मा कफी नीति तयार पारेको छ। त्यस्तै, नेपाली कफीलाई विश्व बजारमा निर्यात गर्न राष्ट्रिय कफी निर्यात रणनीति २०१७/२०२१, कफी बालीको बिमा गर्न कफी बाली बिमा नीति जस्ता सकारात्मक प्रयास पनि भएका छन्। तर, कफी नीतिमा ईंगित गरेजस्तै पहाडी क्षेत्रमा गरिने कफी उत्पादनलाई चाहिने सडक सञ्जाल, सिंचाई, बिजुलीको समुचित विकास हुन नसक्दा कफी उत्पादन निकै पछाडि पर्न गएको छ। आय आर्जन गर्ने एक लोकप्रिय खेतीका रुपमा स्थापित हुँदै गएको नेपाली कफीले स्वदेशी एवं विदेशी बजारमा आफ्नो स्थान बलियो बनाउँदै गए पनि यसको प्रवर्द्धनमा समस्याका चाङ रहेका छन्। ग्रेडिङ लगायतका विषयमा पनि समस्या छन्। नेपाली उत्पादन निर्यातसँगै स्थानीय बजारमा खपत हुने र त्यो नेपाली नै रहेको प्रमाणित हुनुपर्ने अवस्था पनि निम्तिरहेको छ। अन्यथा तपाईँको कपमा रहेको कफी नेपाली नहुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell