काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका उम्मेद्वार दिन डा प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालको उपप्राध्यापक पदबाट राजीनामा दिएका छन्।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले शुक्रवार राजीनामा दिएका हुन्। नेविसंघको केन्द्रिय सदस्य भइसकेका लामा जिल्लामा प्रभावशाली नेताका रुपमा हेरिएको छ। लिसंखुपाखरका उनले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा लोकप्रिय मतसमेत पाएका थिए।
लामा संस्थापन पक्षबाट सभापतिका उम्मेद्वार बन्ने बताइएको छ। यद्यपि यसबारे केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मुख खोलेका छैनन्। यता संस्थापनइतरबाट को उम्मेद्वार हुने भन्नेबारे पनि टुंगो लागेको छैन। उम्मेद्वार टुंगो लगाउन जिल्ला सभापति विकास लामाले डाकेको बैठक जारी छ। आजको बैठकबाट साझा उम्मेद्वार तय गर्ने सभापति लामाले जानकारी दिए।
सिन्धु कांग्रेसको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तोकिएको छ। अधिवेशनस्थल भने अझै तय भइसकेको छैन।