बुटवल : हिउँदे वर्षाका कारण रुपन्देहीमा ८ करोड बढी मुल्यको काँचो ईटा नष्ट भएको छ। जिल्लाका ४७ उद्योगमा पकाउनका लागि तयारी अवस्थामा राखिएका ३ करोड बढी काँचो ईटा नष्ट भएका छन्।
मौसममा एक्कासी आएको परिवर्तनले यस वर्ष पनि रुपन्देहीमा मात्रै ३ करोड बढी काँचो ईटा गलेर नष्ट भएको लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव अजय कुमार गुप्ताले बताए। काँचो ईटाको बिमा नहुँदा ईटा व्यवसायीहरुले वर्षेनी करोडौँको नोक्सान व्यहोरिरहेका छन् भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिको मारमा परिरहेका छन्।
जिल्लामा रहेका कुल ५० वटा ईटा उद्योगमध्ये सञ्चालनमा रहेका ४७ उद्योगमा ३ करोड बढी काँचो ईटा गलेर नष्ट हुदाँ व्यवसायीले ८ करोड १२ लाख रुपैयाँको नोक्सानी भएको दावी गरेका छन्। रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाडौं लगायत देशका विभिन्न स्थानमा जाने गर्दछ।
हिउँदे वर्षाका कारण काँचो ईटा गलेर नष्ट हुदाँ उत्पादनमा कमी आउने र बजारमा पनि ईटाको अभाव हुने देखिएको छ। इटा उत्पादनका लागि हरेक वर्ष मंसिरदेखि जेठसम्म उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण उद्योगहरु बन्द रहने गर्दछन्।
राज्यसँग काँचो ईटाको बिमाका लागि आग्रह गरिएपनि यसतर्फ बिमा कम्पनी र राज्यले ध्यान दिन नसक्दा वर्षेनी व्यवसायीहरुले हिउँदे वर्षाका कारण क्षति व्यहोर्नु परेको नेपाल ईटा उद्योग व्यवसायी महासंघका सदस्य रमेश खनालको भनाइ छ।
वर्षाका कारण करोडौँ ईटा नष्ट भएकोले नयाँ इटा उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने व्यवसायीको भनाइ छ। रुपन्देही ईटा उद्योग व्यवसायी संघका सल्लाहकार समेत रहेका न्यू कामना ईटा उद्योगका सञ्चालक टंक अधिकारीले मौसमबारे पूर्वानुमान भएपनि ईटा जोगाउन नसक्ने बताए। चिसो मौसममा ईटा सुक्न १२ दिन भन्दा बढी लाग्ने र राम्ररी नसुकेको ईटा भण्डारण गर्न पनि नमिल्ने उनले बताए।