PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दैनिक ६५ भन्दा बढी सवारी दुर्घटना, चालकलाई कारबाही बढे पनि छैन घट्ने छनक



दैनिक ६५ भन्दा बढी सवारी दुर्घटना, चालकलाई कारबाही बढे पनि छैन घट्ने छनक
फाइल फोटो

काठमाडौं : पाँच दिनअघि रौतहटमा जन्ती बोकेको जिप दुर्घटना भयो। गरुडा नगरपालिका १ जयनगरमा बीआर ०५ पिए ६९५३ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो। दुर्घटनाको कारण अझैसम्म खुलेको छैन।

त्यसो त देशभित्र भएका धेरै सवारी दुर्घटनाको कारण यही नै हो भन्ने खुल्दैन। न त कुनै निकायले त्यस्तो कारण खोजी गर्ने अथवा दोषी देखिनेलाई कारबाहीको भागिदार नै बनाउने गर्छ नै।

सोझो हिसाबमा तीव्र गति, चालकको लापरबाही, सडक दुरावस्था ती तीन प्रमुख कारण देखिन्छन् जसको वरपर प्रायजसो दुर्घटना घुमिरहेको हुन्छ। तर, वैज्ञानिक आधारमा दुर्घटनाको पहिचान र त्यसको निराकरणका लागि उपायहरु अवलम्बन नहुँदा सवारी दुर्घटना प्रत्येक महिना बढ्दै गएको छ।

पछिल्लो पाँच वर्षको प्रहरीको तथ्याङ्क हेर्दा दैनिक औशतमा ६५ वटाभन्दा धेरै दुर्घटना हुने गरेको देखिन्छ। प्रत्येक वर्ष दुर्घटना र त्यसबाट हुने मानवीय क्षति पनि बढ्दै गएको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिना र चालु आर्थिक वर्षको पाँच महिनालाई तुलना गर्दा सवारी दुर्घटना २८ प्रतिशत भन्दा बढीले बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा देशभर १० हजार ५८ वटा दुर्घटना भएका थिए। आर्थिक वर्ष २०७७/७८को पाँच महिनामा ७ हजार ८ सय ५३ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

सवारी दुर्घटनासँगै मृत्युदर पनि बढेर गएको छ। २४ दशमलव २५ प्रतिशतले मानिसको मृत्यु दर बढेको छ दुर्घटनाका कारण। सोही अवधिमा भएका दुर्घटनामा १ हजार १ सय ८२ जनाले अकालमा ज्यान गुमाएका छन्। जबकि अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ९ सय ४६ जनाको यसैगरी मृत्यु भएको थियो। मृत्युमात्र होइन, दुर्घटनामा परेर गम्भीर घाइते हुनेहरूको सङ्ख्‍या पनि बढेर गएको देखिन्छ। चालु आर्थिक वर्षको पाँच महिनामा १३ प्रतिशतले गम्भीर घाइते हुने सङ्ख्या बढेको देखिन्छ। चालु आर्थिक वर्षको पाँच महिना ३ हजार ६८ जना गम्भीर घाइते भएका छन्।

पछिल्ला केही वर्ष देशभित्र हुने सडक दुर्घटनाको संख्या लगातार माथितिर गएको छ। गत आर्थिक वर्षमा ३२ प्रतिशतभन्दा बढीले सडक दुर्घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ देशभर २० हजार ६ सय ३४ वटा सडक दुर्घटना भएका थिए। त्यस अघिको आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ५ सय ५४ वटा मात्र सडक दुर्घटना भएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनाको सङ्ख्या १३ हजार ३ सय ६६ रहेको छ।

सडक दुर्घटना बढेसँगै दुर्घटनामा परेर मर्ने मानिसहरूको सङ्ख्या पनि बढेर गएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ११ प्रतिशतले सडक दुर्घटनामा मृत्यु हुने मानिसको सङ्ख्या बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सय १३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा २ हजार २ सय ५१ जनाको मृत्यु भएको हो। आर्थिक वर्ष २०७५/७६ मा भने दुर्घटना मर्नेहरूको सङ्ख्या २ हजार ७ सय ८९ रहेको थियो।

चालको लापरबाहीका कारणले पनि दुर्घटना हुनसक्ने भएकाले ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही पनि बढाएको देखिन्छ। तर, त्यसले सवारी दुर्घटना कम भने भएको छैन। प्रत्येक महिना सवारी कारबाही सङ्ख्या पनि बढेको छ। पाँच महिनाको अवधिमा ५० प्रतिशत भन्दा बढीले सवारी कारबाही भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा ७ लाख ८० हजार८ सय २२ वटा सवारी कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७७/७८को पाँच महिनामा ५ लाख १८ हजार३ सय ७८ वटा सवारी कारबाहीमा परेको प्रहरीको तथ्याङ्कले देखिन्छ। तथ्याङ्कले कारवाही गर्दैमा दुर्घटना कम नहुने देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell