PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

रुपन्देहीको सैनामैनामा सञ्चालनमा आयो ‘थारु होमस्टे’



रुपन्देहीको सैनामैनामा सञ्चालनमा आयो ‘थारु होमस्टे’

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका-२ स्थित उचिडिहवामा थारु होमस्टे सञ्चालनमा आएको छ। सोमवारबाट सञ्चालनमा आएको होमस्टेबाट थारु खानपिन, कला संस्कृति, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य लिइएको छ।

होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि  १० लाख अनुदान दिएको छ। त्यस्तै, कार्यक्रम सञ्चालन गर्ने सभाहल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समितिबाट आर्थिक वर्ष २०७२/७३ मा ४ लाख ७५ हजार, आव २०७३/७४ मा ६ लाख ६५ हजार, निर्वाचन क्षेत्र पूर्वधार विकास विशेष कार्यक्रम अन्तर्गत आव ०७३/७४ मा १६ लाख ५७ हजार ५ सय, सैनामैना नगरपालिकाबाट आव २०७२/७३ मा एक लाख ९० हजार, आव ०७३/७४ मा ७ लाख, ०७४/७५ मा ५ लाख, ०७६/७७ मा ६ लाख र लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामिण विकास परियोजनाबाट  आव २०७७/७८ मा १२ लाख रुपैयाँ प्राप्त भएको होमस्टे सञ्चालन समितिका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए।

होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिने बताइएको छ।

‘दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरेका छौँ। एउटा कोठामा दुईवटा बेड छन्। हाल होमस्टेमा एक पटकमा २० जना पाहुना बास बस्न सक्नुहुन्छ’, चौधरीले भने, ‘समुदायको प्राचिन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्‍यो, थारु कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवर्द्धनसँग जोडेको छ।’

थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने तयारी गरिएको उनले बताए। होमस्टे बुटवलबाट १४ किलोमिटर पश्चिममा रहेको महेन्द्र राजमार्गको कालिकाचोकबाट उत्तरमा रहेको छ। उचिडिहवा गाउँ थारु समुदायको पुरानो एवं ऐतिहासिक बस्ती पनि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell