PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

‘लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ



‘लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

जनकपुरधाम : नेपाल रेल्वे कम्पनीको नियुक्तिपत्र दिएर ठगी गर्ने एक जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

आफूलाई लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनी लिमिटेडको कर्मचारी रहेको भन्दै ठगी गरिरहेका चौधरीलाई आइतवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित सीता प्यालेस होटल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

बस्नेतले भने, ‘चौधरीले आफू लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको सूचनाको आधारमा हाम्रो टोलीले पक्राउ गरेको हो।’

पक्राउ परेपछि चौधरीको खानतलासी गर्दा ज्याकेटको गोजीमा लोक सेवा आयोग नतिजा प्रकाशन शाखाको नियुक्ति, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ति पत्र, शपथ ग्रहण पाना, नेपाल ईन्भेस्टमेन्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत वीरगंज लेखिएको रबर स्टाम्प छाप बरामद गरिएको बस्नेतले बताए।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखतसम्बन्धि कसुर मुद्दा शिर्षकमा ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell