सुर्खेत : राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) र नेकपा (एमाले)ले मनोनयन दर्ता गराएका छन्।
तीन पदका लागि गठबन्धन र एमाले दुवै पक्षबाट गरी ६ जनाको मनोनयन दर्ता भएको हो। गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), एकीकृत समाजवादीको तर्फबाट उदयबहादुर बोहोरा (सल्यान)ले उम्मेद्वारी दर्ता गराएका हुन्।
यस्तै, एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला)ले राष्ट्रिय सभा सदस्य पदका लागि मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा रोजेन्द्रकुमार आचार्यले जानकारी दिए।
राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रदेशसभाका सदस्यहरुसँग हुन्छ। स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेशसभा सांसदको ४८ रहने कानूनी व्यवस्था रहेको छ।
कर्णालीमा ७९ स्थानीय तहमा पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ सहित १९१ जनाले मतदान गर्ने छन्।
तत्कालिन अवस्थामा एमालेसँग ५८ पालिकाका पदाधिकारी थिए। जसमा एक हजार ४४ मत भार थियो। तर, अहिले समाजवादीको दुई सय ३४ मत घटाउँदा एमालेको आठ सय १० मत हुन्छ।
प्रदेश सभामा पनि शक्तिशाली बनेको एमाले पार्टी फुटपछि खुम्चिएको छ। तीन जनाले समाजवादी रोजेपछि एमालेमा १३ जना सांसद छन्। अहिले एमालेसँग राष्ट्रिय सभाको चुनावका लागि एक हजार चार सय ३४ मत भार मात्रै छ। यता, समाजवादीको तीन जनाको मत भार एक सय ४४ हुन्छ भने स्थानीय तहमा रहेका १३ जनाको मतभार जोड्दा कुल तीन सय ७८ हुन्छ।
त्यस्तै, माओवादी केन्द्रसँग पनि ५२ स्थानीय तहका पदाधिकारी छन् भने प्रदेशसभामा १२ जना सांसद छन्। माओवादी केन्द्रको स्थानीय तहबाट नौ सय ३६ र सांसदबाट पाँच सय ७६ मत गरी राष्ट्रिय सभा निर्वाचनका लागि एक हजार पाँच सय १२ मत भार छ।
तत्कालिन अवस्थामा मतका हिसावले एमाले ठूलो दल भएपनि विभाजनपछि माओवादी भन्दा ७८ मतले पछाडि देखिन्छ।
यता, नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख उपप्रमुखको सात सय २० मत भार छ भने ६ सांसदको ४८ मत भार छ। जुन दुई ८८ मत भार हुन्छ। यसरी स्थानीय र प्रदेश जोड्दा कांग्रेससँग एक हजार आठ मत भार छ।
यसरी हेर्दा गठबन्धनदलसँग दुई हजार आठ सय ८५ र एमालेसँग एक हजार चार सय ३४ मत भार मात्रै रहेको छ। जसले गर्दा सहजै गठबन्धनदलले जित हात पार्ने देखिन्छ।