PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आँचल शर्मा अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली भाषामा समेत रिलिज हुने



आँचल शर्मा अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली भाषामा समेत रिलिज हुने

काठमाडौं : अभिनेत्री आँचल शर्माको डेब्यु तेलुगु फिल्म ‘हिटम्यान-च्याप्टर १’ नेपाली भाषामा पनि रिलिज हुने भएको छ। फिल्म टिमले एक कार्यक्रमबीच फिल्मको टिजर देखाउँदै यो फिल्म नेपाली भाषामा पनि रिलिज हुने जानकारी दिएको हो।

आँचलले पहिलोपटक तेलुगु फिल्ममा काम गर्ने अवसर पाउँदा निकै खुसी लागेको बताइन्।

‘फिल्मको स्क्रिप्ट मन परेपछि म यस फिल्ममा जोडिएकी हुँ। विष्णु जीको फिल्मप्रतिको प्यासन देखेर नै मैले ओके भनेकी हुँ। उहाँहरुको उद्देश्य नै फिल्ममार्फत नेपाली चिनाउनु हो। यस फिल्ममा काम गर्नु मेरो लागि नौलो अनुभव हो। धेरैजसो नेपाली कलाकारहरु भएर काम गर्न निकै सजिलो भयो। मैले फिल्ममा नेपाली नै बोलेकी छु,’ उनले भनिन्।

भारतसहित नेपालमा यस फिल्मको छायाङ्कन गरिएको हो। नेपालतर्फको भागमा आँचललाई देख्न सकिने छ। पोखरा र काठमाडौंका रमणीय स्थानमा हिटम्यान छायांकन गरिएको हो।

फिल्ममा विष्णु अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा आँचलका साथै प्रशान्त ताम्राकार, मिलन सिजापति र अदिति शर्मा लगायतका साउथ फिल्मका कलाकारहरुको अभिनय रहेको छ।

फिल्ममा दीपक अधिकारी भने निर्माताका रुपमा रहेका छन्। यो फिल्म तेलुगु लगायत नेपाली र हिन्दी भाषामा तयार पारेर रिलिज गरिनेछ।

एक्सन थ्रिलर जनरामा बनेको यस फिल्मलाई आगामी मार्च महिनासम्म विश्वभरि नै रिलिज गर्ने सोच रहेको निर्माणपक्षले जनाएको छ। नेपालमा ११ दिनको छायांकन सकेर अहिले फिल्मको पोस्टप्रोडक्सनको काम चलिरहेको छ।

यसअघि अभिनेत्री स्वस्तिमा खड्काले पनि साउथ इन्डियन फिल्म ‘थिरिमाली’मा अभिनय गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell