हेटौँडा : सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट दैनिक ९ हजार बोरा बिक्री हुन थालेको छ। उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले माग अत्यधिक रहेकाले स्टक नरहेको जानकारी दिए।
‘हामी आफ्नो लक्ष्य अनुसार सिमेन्ट उत्पादन गरिरहेका छौं। बिक्री राम्रो हुँदै आइरहेको छ,’ उनले भने। अत्यधिक मागका कारण कतिपय डिलरमा सिमेन्ट पठाउन नपुगेको उनले जानकारी दिए।
गत वर्ष २०७७/७८ मा क्लिंकर १ लाख ५० हजार टन र सिमेन्ट १ लाख ६२ हजार टन उत्पादन गर्ने लक्ष्य थियो। तर, मेशिन पुरानो भएकाले ८४ हजार ५ सय १४ टन क्लिंकर उत्पादन र सिमेन्ट उत्पादन ८९ हजार २ सय २५ टन मात्रै भएको थियो।
महाप्रबन्धक सिंहका अनुसार चालु आर्थिक वर्षमा मेसिनमा खराबी नआएकाले उत्पादन र बिक्री पनि राम्रै भएको बताए। चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म क्लिंकर ३२ हजार टन र सिमेन्ट ३९ हजार टन उत्पादन भएको उनले बताए।
चालु वर्षमा क्लिंकर १ लाख २५ हजार मेट्रिक टन र सिमेन्ट १ लाख २६ हजार टन उत्पादन गर्ने लक्ष्य लिइएको छ। हेटौँडा सिमेन्ट बोराको ७ सय ४९ रुपैयाँमा बिक्री हुँदै आएको छ। सिंहका अनुसार उद्योग अहिले ७० प्रतिशत क्षमतामा मात्रै चलिरहेको छ। उद्योगमा ३ सय ७० कर्मचारी कार्यरत छन्।
२०३३ सालमा स्थापना भएको उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो। हेटौँडा नगरपालिका-९ लामसुरेमा रहेको उक्त उद्योगको निम्ति दैनिक एक हजार टन चुनढुंगाको आवश्यकता पर्छ।
उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ। उद्योगले धादिङको जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गर्छ।