PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वीरगंजलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन



वीरगंजलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन

वीरगंज : प्रदेश २ को स्थायी राजधानी पर्साको सदरमुकाम वीरगंजलाई बनाउनु पर्ने मागसहित वीरगंजवासीले प्रदर्शन गरेका छन्। शनिवार दिउँसो वीरगंजमा प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन्।

दुई पटकको मधेस आन्दोलन र नाकाबन्दीको बेला मधेसवादी दलका नेताहरुले देशमा संघीयता आए आन्दोलनको केन्द्रविन्दु भनेर चिनिने वीरगंजलाई प्रदेशको राजधानी बनाउने आश्वासन दिँदै आएको र अहिले प्रदेश २ को राजधानी अन्तै बनाउन लागिएकोप्रति आपत्ति प्रकट गर्दै वीरगंजवासी सडकमा ओर्लिएका हुन्। सामाजिक सञ्जालबाट वीरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दै शनिवारको कार्यक्रम तय भएको थियो।

कार्यक्रममा विभिन्न राजनीति दल नेता कार्यकर्ता, युवा, महिला, विद्यार्थी तथा अगुवाहरुको समेत सहभागिता रहेको थियो। देशकै प्रमुख प्रवेशद्वार एवं आर्थिक नगरीको रुपमा परिचित वीरगंजलाई पाखा लगाउँदै जनकपुरलाई राजधानी बनाउन खोजेको भन्दै आक्रोशित वीरगंजवासीले ‘वीरगंज राजधानी कायम गर’, ‘मुख्यमन्त्री मुर्दावाद’, ‘मुख्यमन्त्री चाहिँदैन’, ‘वीरगंजलाई बेच्न पाइँदैन’ भन्ने नारा लगाएका थिए।

वीरगंजको घण्टाघरबाट शुरु भएको प्रदर्शन बजार परिक्रमा गरी पुनः घण्टाघरमा आएर सम्पन्न भएको थियो। मधेस आन्दोलनलाई सार्थक बनाउन वीरगंजले खेलेको भूमिका र शहीदहरुको बलिदानीको मूल्यांकन गरेर वीरगंजलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने माग प्रदर्शनमा सहभागीहरुको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell