PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि : शक्ति बस्नेत दम्पत्तीलाई पनि कोरोना



माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि : शक्ति बस्नेत दम्पत्तीलाई पनि कोरोना

काठमाडौं : माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफू र श्रीमानलाई कोरोना संक्रमण भएको नेता सत्य पहाडीले फेसबुकमार्फत जनाएकी छन्।

'तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवैजना होम आइसोलेसनमा,' नेता पहाडीले भनेकी छन्।

पुस १९ गते पद तथा गोपनियताको शपथ लिएका माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको हो। शनिबार बिहानमात्र माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूलाई कोरोना संक्रमण पुष्टि भएको खुलाए। संक्रमण पुष्टिसँगै आफू १४ दिने आइसोलेसनमा बस्ने घोषणा उनले गरे।

लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई कोरोना भएको पुष्टि गरे। शुक्रवार बेलुका गरिएको एन्टिजेन परीक्षर र पीसीआर परीक्षणमा प्रचण्डलाई कोरोना पुष्टि भएको उनको निजी सचिवालयले जनायो।

'अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,' प्रचण्डको निजी सचिवालयले फेसबुकमार्फत् भनेको छ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि प्रचण्ड स्वास्थ्यकर्मीको सल्लाहअनुसार केही दिन आइसोलेसनमा बस्ने उनको सचिवालयले जनाएको छ। माओवादी नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ। सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा भएको शपथ समारोहबाट धेरैलाई कोरोना संक्रमण भएको आशंका माओवादी नेताले नै गरेका छन्। उक्त समारोहमा २ सय ३६ जना सदस्यहरुले सपथ लिएका थिए भने कार्यकर्ता र सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति रहेको थियो।

प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। शनिवार बिहानै १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेपछि बालुवाटार फर्केर देउवा आइसोलेसनमा बसेका छन्। त्यसैगरी सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि शनिवारबाटै होम आइसोलेसनमा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell