PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

झारफुक गर्दा बालिकाको मृत्यु भएपछि ‘माता’ पक्राउ



झारफुक गर्दा बालिकाको मृत्यु भएपछि ‘माता’ पक्राउ

काठमाडौं : झारफुक गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय उमा शाही ठकुरी रहेकी छिन्।

शनिवार बिहान ६ बजे सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिका ठकुरीले झारफुक गर्ने क्रममा बेहोस भएकी थिइन्। बेहोस भएकी बालिकालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याइएकोमा बालिकाको मृत्यु भएको जानकारी मनमोहन मेमोरियल अस्पतालका चिकित्सकले दिएका थिए।

सो खवर पाएपछि महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली अस्पताल पुगी शवको जाँच मुचुल्का र घटनास्थलको मुचुल्का उठाएको थियो। प्रहरीले बालिकाको शवलाई पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्‍जमा पठाइएको बताएको छ।

अनुसन्धानको क्रममा मृतकलाई उनकी आमाले २२ दिन पहिले उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याई छोडेको खुलेको छ। प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिई कर्तब्य ज्यान कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell