PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कदमका लेखक अनन्त वाग्ले पुरस्कृत



कदमका लेखक अनन्त वाग्ले पुरस्कृत

काठमाडौं :  राउटे समुदायको बारेमा लेखिएको उपन्यास कदमका लेखक अनन्त वाग्ले पुरस्कृत भएका छन्। सोमवार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा साहित्यकार वाग्ले तुलसी चन्द्र स्मृति पुरस्कारबाट पुरस्कृत भएका हुन्।

लोपोन्मुख जातिको विषयलाई साहित्यमार्फत राष्ट्रिय रुपमा उजागर गर्दै योगदान दिएको सम्मानमा वाग्लेको उक्त कृतिलाई पुरस्कृत गरेको आयोजक तुलसी चन्द्र स्मृति प्रतिष्ठानले जनाएको छ। साहित्यकार वाग्लेले पुरस्कारसहित १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे।

आफूलाई यो पुरस्कार पाउँदा निकै खुसी लागेको वाग्ले बताए। 'यो पुरस्कार पाउँदा निकै खुसी लागेको छ। शासक वर्गको नभई दुखजिलो गरि बनेको पुरस्कार पाउँदा निकै ठूलो पुरस्कारजस्तो लागेको छ,' सम्मानपछि वाग्लेले भने।

पुरस्कारबाट प्राप्त रकम राउटेहरुकै हितमा खर्च गर्ने लेखक वाग्लेले बताए। 'किताबको रोयल्टी राउटेको हितमा खर्च गर्ने कोष बनाउने तयारी छ,' बालवाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिवसमेत रहेका वाग्लेले भने, 'पुरस्कारको रकम पनि कोषमा राख्छु।'

कार्यक्रममा हाम्रो पुरुषार्थ साहित्यिक पत्रिका(गुल्मी)का सम्पादक शशि पन्थीसमेत सम्मानित भए। पन्थीलाई सम्मानसहित १० हजार रुपैयाँ नगद प्रदान गरियो। आफ्ना दिवंगतको सम्मानमा पुरस्कार र सम्मान प्रदान गर्नु पितृप्रति सच्चा श्रद्धा भएको पन्थीले बताए। 'आफ्ना दिवंगतको सच्चा श्रद्धा भएको छ तर सम्मानको भारी र इज्जत जोगाउन मलाई मुश्किल होला कि,' सम्मानपछि उनले भने। अर्घाखाँचीका साहित्यका हेमराज पाण्डेले आफ्ना हजुरबुवा र हजुरआमा तुलसीराम पाण्डे र चन्द्रकला पाण्डेको सम्झनामा उनीहरुको पुण्यतिथिमा प्रदान गर्ने गरी यो पुरस्कार स्थापना गरिएको आयोजकले जनायो।

कार्यक्रममा प्रमुख अतिथि मानव अधिकार आयोगका प्रमुख तपबहादुर मगरले कदम उपन्यासको चर्चा गर्दै आफूलाई यो विषयले छोएको बताए। 'लोपोन्मुख जातिको बारेमा लेख्नुभएको रहेछ। मलाई पढ्दै जादा मन दुखेको छ। उनीहरूको जीवनमा सुधार हुनुपर्छ,' अध्यक्ष मगरले भने, 'सीमन्कृत वर्गको अवस्था सुधार गर्नतिर हामी लाग्नुपर्छ। साहित्यले पनि यो उजागर गरेकोमा धेरै राम्रो लागेको छ।'

साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल किताब अत्यन्तै मार्मिक विषयमा लेखिएको बताए। भने, 'कदम किताबका लेखकलाई पुरस्कार दिन पाउँदा संस्था गौरवान्वित भएका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell