PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

गण्डकीमा कोरोना संक्रमण बढ्दो : आज एकैदिन १ सय १४ जनामा संक्रमण पुष्टि



गण्डकीमा कोरोना संक्रमण बढ्दो : आज एकैदिन १ सय १४ जनामा संक्रमण पुष्टि

पोखरा : गण्डकी प्रदेशमा आज एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार गएका पछिल्लो महिनामा देखिएको संक्रमित संख्या अनुसार आज देखिएको संक्रमित संख्या उच्च हो।

आज देखिएको संक्रमित संख्यामा सबैभन्दा बढी कास्की जिल्लामा ७५ जना रहेका छन्। योसंगै कास्कीमा सक्रिय संक्रमितको संख्या २ सय ६४ पुगिसकेको छ।

यस्तै, म्याग्दीमा ४, गोरखामा ६, तनहुँमा ७, बागलुङमा ५, स्याङ्जामा ८ र नवरपरासी पूर्वमा ९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै, हिजो सोमवार प्रदेशमा ७० जनामा संक्रमण पुष्टि भएको थियो।

आइतवार ३८ र गएको हप्ताको शुक्रवार १६, बिहिवार २२, बुधवार १६, मंगलवार १३ जनामा पुष्टि भएको संक्रमितको संख्या आज बढेर १ सय १४ पुगेको हो।

प्रदेश प्रवेश गर्ने नाकामा निगरानी

कोरोना संक्रमितको संख्या बढेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकामा निगरानी गर्न निर्देशन दिएको छ। हिजो सोमवार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समितिले बसेको बैठकले सो निर्णय गरेको हो।

‘प्रदेशको प्रवेश विन्दु तनहुँको आँबुखैंरेनी, स्याङजाको रामदी, नवलपरासी पूर्वको विनय त्रिवेणीमा निगरानी बढाउन आवश्यक सार्वजनिक स्थलहरुमा नि:शुल्क एन्टिजिन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने साथै पोजेटिभ देखिएकालाई संस्थागत आयसोलेसन हेल्डिङ सेन्टरका सम्बन्धित जिल्ला संकट व्यवस्थापन समितिले समन्वय गर्ने व्यवस्था मिलाउने,’ निर्णयमा भनिएको छ।

बैठकले  कोभिड संक्रमण कार्यविधि २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन समिति र स्थानीय तहहरुलाई निर्देशन पनि दिएको छ। यस्तै, बैठकले  कोरोना संक्रमण रोकथाम, नियन्त्रण गर्न स्मार्ट लकडाउनको प्रक्रिया अवलम्बन गर्ने भएको छ।

बैठकले प्रदेशमा सबै प्रकारका भेला, मेला, महोत्सव नगर्न/नगराउन आह्वान गरेको छ। बैठकले माघ ७ गतेदेखि सार्वजनिक कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क प्रवेश गर्न कोभिड-१९ विरुद्धको खोपको कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell