PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

पोखरामा आजदेखि जलपंछी गणना शुरु



पोखरामा आजदेखि जलपंछी गणना शुरु

पोखरा : पोखरामा आजदेखि जलपंछी गणना शुरु भएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरामा शुरु गरिएको हो।

पोखराका तालहरुबाट शुरु गरिएको पंछी गणनाको अभिलेख सन् २००४ बाट पोखराले नियमित रुपमा आधिकारिक गणना र अभिलेख राख्न थालेको हो। यसवर्ष पनि पुष १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपंछीहरूको गणना गरिने पोखरा पंछी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिए।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने पंछी गणनाले सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्छ।

टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा यो शुरु गरिएको थियो। त्यसयता हुने जलपंछी गणना पोखरामा रहेका केही पथ प्रर्दशकहरु, नेपाल पंछी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंछी समाजको संलग्नता रहँदै आएको छ।

गणनाको आज पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा हुन्छ। दोस्रो दिन फेवातालमा जलपंछी गणना कार्यक्रम गरिने छ। हालको समयसम्म गरिएको गणनामा पोखरामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि बर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell