PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दश वर्षपछि बन्यो मकवानपुर र सिन्धुली जोड्ने पुल, वैशाख १५ सम्म हस्तान्तरण हुने



दश वर्षपछि बन्यो मकवानपुर र सिन्धुली जोड्ने पुल, वैशाख १५ सम्म हस्तान्तरण हुने

हेटौँडा : माघ १२ गते हेटौँडामा हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन्। पूर्वी मकवानपुर र सिन्धुली जोड्ने पुल निरीक्षणका क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो।

ठेक्का लागेको १० वर्ष नाघ्दा पनि नबनेको पूर्वी मकवानपुरको वाग्मतीबाट सिन्धुली जोड्ने वाग्मती पुल माघदेखि सञ्चालनमा आउने भएको छ। मंगलवार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुल निर्माणबारे चासो लिँदै अनुगमन गरेका थिए।

अनुगमनका क्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताए।

उनले भने, ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ, ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेँ, अब काम करिब करिब सकिएको छ।’

पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताए। पुल निर्माणका लागि चैत मसान्तसम्म समयसीमा थपिएको र काम सकेर वैशाख १५ भित्र हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताए।

‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु यही छोटो बाटो हुँदै माघ १२ गते हेटौँडामा हुने राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न आउन सक्छन्?’ भन्ने मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले भने , ‘कालोपत्रेका लागि एक दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न।’

मदन भण्डारी राजमार्ग अन्तर्गत वाग्मती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ। निर्माण कम्पनीले तीनवर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell