PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रिन्स दाहाल जुनियरतर्फको ब्याडमिन्टन विश्ववरीयताको शीर्षस्थानमा



प्रिन्स दाहाल जुनियरतर्फको ब्याडमिन्टन विश्ववरीयताको शीर्षस्थानमा

काठमाडौं : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर तर्फको विश्ववरीयतामा शीर्षस्थानमा पुगेका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लुएफ)ले जारी गरेको नयाँ वरीयता अनुसार दाहाल जुनियरतर्फ शीर्षस्थानमा उक्लिएका हुन्।

यो नेपाली ब्याडमिन्टनको एउटा इतिहास हो। यसअघि प्रिन्सले शीर्ष तीनसम्म स्थान बनाएका थिए।

शीर्षस्थानमा रहेका प्रिन्सको १०४०० अंक छ भने दोस्रो स्थानमा रहेका मलेसियाका जस्टिन होहको ९५९० अंक छ।

प्रिन्सको करियर

प्रिन्सले ६/७ वर्षदेखि नै ब्याडमिन्टन खेल्न सिके। सानैदेखि स्थानीय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका प्रिन्सको टर्निङ प्वाइन्ट थियो, सन् २०१७ मा हल्चोकमा भएको कृष्णमोहन कप।

प्रतियोगितामा उनले त्यति बेला नेपालका नम्बर ३ वरीयतामा रहेका खेलाडीलाई पछि पार्दै सबैको ध्यान खिचेका थिए। प्रतियोगितामा उनी सेमिफाइनलसम्म पुगे। उपाधि जित्न नसके पनि सम्भावनाका ढोका खोलिदियो।

प्रतियोगितापछि उनले स्पन्सर पाए। सिल्क ग्रुपले पहिलोपटक स्पन्सर गरेसँगै उनी व्यावसायिक रूपमा अझ अघि बढे।
त्यसपछि उनी इन्डिया जुनियर यु-१९ मा मेन राउन्ड पुगे।

प्रतियोगितामा भारतीय र बंगलादेशी खेलाडीलाई उनले हराएका थिए। यो पनि उनका लागि ठूलै उपलब्धि थियो। त्यसपछि नेपाल आएका उनले राष्ट्रिय खेलहरू खेले। यु-१७ र यु-१९ प्रतियोगिता जिते। सिनियर ब्याडमिन्टनमा सेमिफाइनलसम्मको यात्रा तय गरे।

अन्तर्राष्ट्रिय स्तरबाट उनीमाथि परेको नजर सन् २०१८ को दुबई इन्टरनेसनल टुर्नामेन्ट पछि हो। त्यति बेला उनले यु-१५ उपाधि जितेका थिए। ब्याडमिन्टन एसिया अफिसियल पेजमा उनको बारेमा काफी चर्चा भयो। त्यसपछि उनले म्यानमारमा एसिया च्याम्पियनसिप खेले। त्यहाँ टप १६ मा डिसाइडिङमा भारतसँग पराजित भए।

त्यसपछि दुबई इन्टरनेसन २०१९ जिते। यो उनको करिअरको ठूलो उपलब्धि थियो। जसबाट वरीयतामा समेत अगाडि आए।

त्यस्तै, १३ औं दक्षिण एसियाली खेलकुदमा तेस्रो स्थान हात पारे भने त्यसपछि लगत्तै भएको प्रेसिडेन्ट कपमा उपविजेता भए। प्रेसिडेन्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु-१९ तर्फ दोस्रो बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell