PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतीय नागरिक मुख्तार मियाँको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ



भारतीय नागरिक मुख्तार मियाँको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

वीरगंज : भारतीय नागरिक मुख्तार मियाँको हत्या अभियोगमा पर्सा प्रहरीले पाँच जनालाई हिरासतमा लिएको छ। गत पुस २२ गते मृत भेटिएका वीरगंज-३ मा डेरा गरी बस्ने भारतीय नागरिक मुख्तार मियाँको हत्या भएको र सो घटनामा ५ जनालाई नियन्त्रणमा लिई थप छानबिन भइरहेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले पुस २१ गते साँझदेखि ई-रिक्सासहित हराएका मुख्तार मियाँकी पत्नीले २२ गते निवेदन दिएको बताए। उनका अनुसार सोही दिन मुख्तारको शव वयोधा अस्पतालको पछाडिपट्टि वीरगंज-२३ इटियाहीस्थित नहरमा फेला परेको थियो। रिसिइवी र आर्थिक प्रलोभनको कारण मियाँको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

डीएसपी खनालले घटनामा प्रत्यक्षरूपमा संलग्न चारजनामध्ये तीनजना पक्राउ परेको र एक जना फरार भएको तथा दुई जना मतियारलाई पनि पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा मुख्तारसँगै कार्टुन कारखानामा कार्यरत उनका छिमेकी भारतीय नागरिक सुनील कुमार, बाराको परवानीपुर निवासी नितेश पटेल र मुख्तारकै घरमा बस्ने सपन मण्डल रहेको प्रवक्ता खनालले बताए।

पक्राउ परेका यी तीन जनामध्ये सुनील र नितेशविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको तथा मण्डल र दुईजना मतियार नाजीर हुसेन र बाबर हुसेनविरूद्ध सार्वजनिक अपराध मुद्दा तत्काल दर्ता भएको छ। थप अनुसन्धानपछि निजहरूमाथि सोही मुद्दा दर्ता हुने उनले बताए।

सुनील र मुख्तारको पत्नीबीच झगडा भएको र सोही कुरालाई लिएर सुनीलले मुख्तारलाई ज्यान मार्ने धम्की दिएको तथा उनकै योजनामा हत्या भएको अनुसन्धानबाट खुलेको उनले स्पष्ट पारे। गर्भवती महिलालाई गण्डकबाट ल्याउनुपर्ने भनेर मुख्तारलाई पाँच सय रुपैयाँ भाडा तय गरी ई-रिक्सामा बसेर गएको र रेन्चले प्रहार गरी हत्या गरेको तथा उनको शव व्यवस्थापनमा नाजीर र बाबरसमेतले सघाएको प्रवक्ता खनालले बताए।

मुख्तारको शव भेटिएको स्थानबाट उनले लगाएको ज्याकेट, मास्क, टोपी, जुत्ता र सो ठाउँमा रगतको टाटो देखिएपछि हत्या भएको खुलेको हो। सोही अनुरूपको अनुसन्धान गर्दा यी व्यक्तिहरूको संलग्नता पुष्टि भएको उनले दावी गरे। प्रहरीले मुख्तारको ई-रिक्सा बाराको फेटा गाउँपालिका-४ पिलाहा सडकबाट पुस २५ गते बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell