काठमाडौं : धादिङको रुबी भ्याली गाउँपालिकको वडा १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिँदा बेपत्ता तीन जना अझै फेला परेका छैनन्। गाउँपालिकाको पुरु लिङ्जो तिप्लिङमा नयाँ ट्र्याक खन्ने क्रममा बिहीवार सुख्खा पहिरो खसेपछि डोजर पुर्दा तीन जना मानिस बेपत्ता भएका थिए।
खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी बिहीवारबाटै खटेका छन्। 'बिहीवारबाटै नेपाली सेना, एपीएफ र नेपाल प्रहरीहरु खटिनुभएको छ। तर अहिलेसम्म बेपत्ता भेटिएको छैन,' गाउँपालिकाकी उपाध्यक्ष विना लामाले भनिन्।
बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीलाई हेलिमार्फत उक्त स्थानमा उतारिएको थियो। घटनामा परी डोजरका अपरेटर आकाश तामाङ, हेल्पर राजु तामाङ र स्थानीय धनरोङ तामाङ बेपत्ता छन्। डोजर देखिएको ठाउँमा सेना, प्रहरी र स्थानीयले ढुंगा र पहिरो पन्छाउने काम बिहीवार दिनभरी गरेका थिए। आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।