PahiloPost

Jan 29, 2022 | १५ माघ २०७८

गाडीमा अनिवार्य ‘डस्टबिन’ राख्न पश्चिम नेपाल बस व्यवसायी प्रालिको निर्देशन



गाडीमा अनिवार्य ‘डस्टबिन’ राख्न पश्चिम नेपाल बस व्यवसायी प्रालिको निर्देशन

बुटवल : पश्चिम नेपाल बस व्यवसायी प्रालिले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डस्टबिनको व्यवस्था गर्न/गराउन निर्देशन दिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रालिले गाडीमा निस्कने फोहोरमैला डस्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देशन गरेको हो। प्रालिले यात्रुहरुलाई पानीका खाली बोत्तल, कागज, प्लाष्टिक वा अन्य फोहोरहरु बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ।

निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उपप्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ। जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकाय, प्रशासनद्वारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधिअनुसार कारबाही एवं दण्ड जरिबाना हुने प्रालिद्वारा जारी निर्देशन पत्रमा स्पष्ट पारिएको छ।

तिलोत्तमा नगरपालिकाले प्रालि मातहत सञ्चालित बसहरुमा डस्टबिनको अनिवार्य व्यवस्था गर्न पुस २० गते पत्राचार गरेको थियो। पूर्णसरसफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरको कारण सडकमा प्रदुषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायीलगायतका यातायात संघ-संस्थालाई आवश्यक सहयोगको लागि आग्रह गरिएको थियो।

तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाई हुँदै आएको छ भने टोल विकास संस्थाहरुले आ-आफ्नो अनुकुलतामा शनिवार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाई गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell