मीनपचासको जाडो। काठमाडौंमा चिसो ह्वात्तै बढेको हुन्थ्यो। अहिले जस्तो ज्याकेट वा बाक्ला लुगाहरु थिएनन्। पातलो लुगा नै लगाएर किसानहरु खेतमा काम गर्थे। जाडो कटाउनै गाह्रो। तर, काम त गर्नै पर्यो, अन्न उब्जाउँदा शरीरलाई तातो बनाउनै पर्यो। यही समयमा नेवार समुदायमा शरीरलाई तातो बनाउने खाद्य पदार्थहरुको आविस्कार भयो। य:मरिको सिर्जना भए जस्तै बन्यो चाकु।
एक हिसाबमा मौसमअनुसार हुने खेतीको उपभोगका लागि यस्ता पर्वहरु विकास भएको देखिन्छ।
माघ १ गते माघे संक्रान्तिका दिनलाई नेवार समुदाय ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यो दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास छ।
माघ नजिकिँदै गर्दा चाकुको माग ह्वात्तै बढ्छ। सँगै चर्चामा आउँछ टोखा।
लिच्छवीकालमा नै टोखा एउटा व्यवस्थित शहर बनिसकेको कथन छ। काठमाडौं उपत्यकामा मनाइने अधिकांश जात्रापर्व टोखामा पनि आफ्नै तरिकाले धुमधामका साथ मनाइन्छ। टोखामा मनाइने बिस्का: जात्रादेखि यँया: (इन्द्रजात्रा) को आफ्नै महत्व छ।
कुनै बेला चीनको तिब्बतसम्म जाने मार्गको रुपमा रहेको टोखा चाकुको लागि निकै प्रख्यात छ।
नहोस् पनि कसरी। टोखाको नाम चाकुको आविस्कारसँगै जोडिएको जो छ।
टोखालाई नेपाल भाषामा ‘तुख्य:’ भनिन्छ। ‘तु’ अर्थात ‘उखु’ र ‘ख्य:’ भनेको ‘खुला ठाउँ’।
उखु विशेष गरी तराई भेगमा धेरै फल्ने। जाडोमा काठमाडौंमा उखु राम्रो सँग फल्ने भनेको टोखामा मात्रै। कुनैबेला टोखामा उखु बारी नै उखु बारी हुन्थ्यो। त्यही उखुको रस निकाल्ने, अनि सख्खर बनाएर त्यसबाट चाकु बन्यो। उखुको खेतै खेत भएकोले तुख्य: भनिए पनि पछि अपभ्रंश हुँदै टोखा बन्यो।
पहिला टोखामा नै उखु उत्पादन हुन्थ्यो। अर्गानिक बन्थ्यो चाकु। अहिले भने टोखामा उखु फल्ने खेतमा घर ठडिसके। त्यसैले उखु र सख्खर तराईबाट आयात गर्नुपर्छ। त्यसकारण चाकुबाट अहिले पहिला झै अर्गानिक रहेन।
उपत्यकामा मलिलो माटो रहेको टोखामा अहिले भने उखु फल्दैन। हाल सर्लाही, कपिल्वस्तु, नेपालगञ्ज लगायतका स्थानबाट उखु र सख्खर आयात गरिन्छ। उताबाट सख्खर आयात गरिने भएकाले पनि चाकु पहिला जस्तो नभएको स्थानीय चाकु उत्पादक बनाउँछन्।