PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अफगानिस्तानको संकटमा सहायता गर्दै नेपालः परराष्ट्रमन्त्री भन्छन्, ‘आफ्नै जहाजबाट सामाग्री पठाउँछौँ’



अफगानिस्तानको संकटमा सहायता गर्दै नेपालः परराष्ट्रमन्त्री भन्छन्, ‘आफ्नै जहाजबाट सामाग्री पठाउँछौँ’

काठमाडौँः ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का अनुसार संकट व्यहोरिरहेका अफगानी नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली आइतबार (भोलि) विमानमार्फत् काबुल जाँदैछ।

खड्काले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको बताए। खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दाबी समेत गरे। 

उनका अनुसार आइतबार नै काबुलस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने छ। सहायता सामग्रीमा औषधि, लत्ता कपडा र अन्य आवश्यक घरायसी सामान रहेका छन्।

परराष्ट्रमन्त्री खड्काले भने, ‘यो एउटा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो। अभियान नै हो। हामीले अफगानिस्तानका लाखौँ–लाख जनता जो, भोकमरी, त्यस्तै गरेर खाद्यन्नको अभाव, लत्ता–कपडा र धेरै ठूलो औषधि उपचारको संकटमा हुनुहुन्छ। उहाँहरुको चित्कार दिनैपिच्छे हामीहरुले अन्तर्राष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौँ। भोलि मानवीय सहयोग लिएर यहाँबाट हवाइजहाज जान्छ। कावुलमा संयुक्त राष्ट्र संघका प्रतिनिधि, जो महासचिवको यस क्षेत्रको प्रतिनिधि हुनुहुन्छ उहाँलाई ह्याण्डओभर हुन्छ।’

खड्काले आफ्नै जहाजबाट सहायता प्रदान गरिएको पहिलोपटक भएको बताए। उनले भने, ‘मलाई लाग्छ नेपालको इतिहासमा पहिलोचोटी प्लेन नै लिएर सामान लिएर एउटा छिमेकी राष्ट्रको, छिमेकीभन्दा नि एउटा दक्षिण एसियाली संगठनको सदस्य राष्ट्रको नाताले पनि हामीहरुले एउटा ठूलो सहयोग प्रदान गर्नेछौँ।’

संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ। उक्त समस्या सम्बोधनका लागि मानवीय सहायता उपलब्ध गराउन अफगानिस्तानले विश्व समूदायलाई अपिल गर्दै आएको छ। न्यूज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell