PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

धुर्मुस सुन्तलीले भने : क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको छैन, खर्च सार्वजनिक हुन्छ



धुर्मुस सुन्तलीले भने : क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको छैन, खर्च सार्वजनिक हुन्छ

काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाबाट हात निकालेको धुर्मुस-सुन्तली फाउण्डेशनले परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्य भएको बताएका छन्। फाउन्डेशनले छिट्टै रंगशालाको वास्तविक आम्दानी र खर्च सार्वजनिक गर्ने पनि जनाएको छ।

रंगशाला निर्माणको लागि स्रोत जुटाउन नसकेको भन्दै फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व ग्रहण गर्न पत्र पठाएको थियो।महानगरपालिकाले पनि आफूहरु रंगशालाको स्वामित्व लिन तयार रहेको बताइसकेको छ।

तर, धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको क्रममा अनियमितता गरेको आरोप लागेपछि फाउण्डेशनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएको हो।

फाउन्डेशनले भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको र त्यसलाई पूर्ण बनाउन थप मुल्यांकन भइरहेको जनाएको छ।

'आर्थिक प्रगति सम्बन्धमा फाउन्डेसनको तर्फबाट सुरूवाती दिनदेखि २०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरीक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलि मै फाउन्डेशनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौँ। उक्त प्रतिवेदन सम्बन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी-खर्च सार्वजनिक गरिनेछ,' फाउण्डेशनले भनेको छ।

 

हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको भन्दै फाउण्डेशनले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात आफूहरुले सबै विवरण सार्वजनिक गर्ने जनाएको छ।

'पछिल्लो समय परियोजनासम्बन्धि वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन/प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौँ। हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौँ,' फाउण्डेशनले भनेको छ।

रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ। विभिन्न दातृ निकाय तथा विदेशमा रहेका नेपालीहरुको सहयोग र सरकारी निकायको सहयोगमा निर्माणाधिन रंगशालामा भ्रष्टाचार गरिएको फाउण्डेशनविरुद्ध आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell