PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भरतपुर अस्पतालका ३७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि



भरतपुर अस्पतालका ३७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि

चितवन : भरतपुर अस्पतालमा कार्यरत ३७ स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालका मेसु डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार सोमवारसम्म ती कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

अस्पतालका ३७ कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भएकोले सेवा प्रवाहमा कठिनाइ भइसकेको भन्दै उनले अत्यावश्यक नपरि अस्पताल नआउन आग्रह गरेका छन्। 'कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ यो बाध्यता पनि मनन गरिदिनुहुन अनुरोध छ। कर्मचारी संक्रमित हुने संख्या अझ बढेमा‌ सेवाप्रवाहमा केहि कटौति पनि हुँदै जान सक्ने देखिन्छ,' उनले फेसबुकमा लेखेका छन्, 'सकेसम्म घरमा बसौं र स्वस्थ रहौं।'

संक्रमित कर्मचारी पोजिटिभ भइ होम आइसोलेसनमा बसेको ७ दिनपछि वा अस्पतालबाट डिस्चार्ज भएको ३ पछि ड्युटीमा हाजिर हुनु पर्ने नयाँ निर्देशन नेपाल सरकारबाट आइसकेकोले सो अनुरुप गर्न समेत उनले भनेका छन्।

यसैबीच सोमवार भरतपुर अस्पतालमा भएको आरटी-पीसीआर परीक्षणका क्रममा १२४ र एन्टिजेन परीक्षणमा २६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा १८८ नमुनाको पीसीआर र ७५ नमुनाको एन्टिजेन परीक्षण भएको थियो। पछिल्लो समय चितवनमा संक्रमितको संख्या बढ्दै गएको छ। हाल चितवनमा ८ सय बढी सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell