काठमाडौं : नेपाल कृषि बजार विकास कार्यक्रम(सहज)ले 'सहज च्यालेन्ड फन्ड'का लागि नवीनतम सोच भएको योजनासहितको आवेदन मागेको छ। मंगलवार जुममार्फत भर्चुअल प्रेस मिट गर्दै सहजले प्रदेश १ का कृषि बजारमा ढुवानीका लागि कम्पनीहरुलाई योजना पेश गर्न आग्रह गरेको हो।
सहजले आइडिया स्टुडियोसँगको सहकार्यमा यो आवेदन मागेको हो। सहजले एक करोड ९५ लाख बराबरको बजेटको आवेदन माग गरेको कार्यक्रमका फाइनन्स इक्पर्ट ब्रजेश मल्लले बताए।
'नयाँ सोचलाई १ करोड ९५ लाख बजेट छ। बढीमा ५० लाखसम्मको सहयोग हामी गर्न सक्छौ। प्राविधिक तथा वित्तिया सहयोग पनि हुनेछ नै। निजी क्षेत्र, सहकारीहरुले यसमा आवेदन गर्न सक्छन्,' मल्लले भने।
नेपाल सरकार र स्विस सरकारको संयुक्त प्रयासमा यो कार्यक्रम सञ्चालन हुन लागेको सहजकी रिमा श्रेष्ठले बताइन्। 'नेपाल कृषि बजार विकास कार्यक्रम नेपाल सरकार र स्विस सरकारको कार्यक्रम हो। अहिले प्रदेश १ मा मात्र यसले काम थालेको छ,' उनले भनिन्, 'आपूर्ति श्रृंखला तथा ढुवानीमा नयाँ सोच भएकालाई हामी आवेदन आह्वान गरेका हौ।'
सहज च्यालेन्ज फन्ड आयोजनाका लागि पूर्वाञ्चल विश्वविद्यालयले सहयोग गर्ने विश्वविद्यालयका डिन बिजु थपलियाले बताए। 'कृषकको उत्पादनलाई बजारसम्म पुर्याउन नै सहज च्यालेन्ज फन्ड आएको हो। दुध तथा तरकारी बजारसम्म कसरी ल्याउने भन्ने कुरा छ,' डिन थपलियाले भने, 'मेरो ट्रकमा ल्याउने भन्ने योजना छ भने दिनुहोला। कोल्डस्टोरेज ट्रान्फरमेसनको कुरा हुन सक्छ। पूर्वाञ्जल विश्वविद्यालयले पनि यसलाई सहयोग गर्न सक्छ। हामी साथमा छौं यो कार्यक्रममा।'
मोरङ व्यापार संघका उपाध्यक्ष नवीन रिजालले नेपाली उत्पादन नेपाली बजारमा खपतका लागि यो फन्ड धेरै राम्रो हुने बताए। 'हाम्रो उद्देश्य पनि यस्तै थियो। अहिले पनि यही नै हो। हामीले उद्यमशीलताको विकासका लागि सामाजिक रुपमा अघि बढ्नु नै पर्ने हुन्छ। कृषिको विषयमा हामीले कुनै समय ४ अर्बको निर्यात गर्थ्यौ। अहिले २ खर्बको आयात हुन्छ,' उनले भने। प्रदेश १ मा उत्पादन हुने सुन्तला, अल्लोजस्ता विषयमासमेत प्रचार आवश्यक रहेको उनले बताए।
आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले सप्लाइ चेनमा काम गर्नका लागि नयाँ खालको योजना आवश्यक रहेको उल्लेख गर्दै समस्यामा समाधान खोज्न आइडिया स्टुडियो लागेको बताए। 'सहजसँग आइडिया स्टुडियो जोड्न पाएकोमा एकदम खुसी लागेको छ। किसान र उपभोक्तबीचको जुन सप्लाइ चेनमा धेरैले काम गर्न खोज्नुभएको छ,' डा लामाले भने, 'प्रदेश १ होस् या अरुमा योजना पठाउनुहोला। नेपालमा सप्लाइ चेनमा काम गरौ भनेर नै यसरी अघि बढ्दैछौ। समस्यामा समाधान खोज्न नै यो योजना अघि बढाइएको हो।'
प्रदेश १ का भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयका सचिव रामनारायण तिवारीले ढुवानी प्रोजेक्टमा आउने योजनामा सहयोग गर्न सरकार तयार रहेको बताए। 'प्रदेश १ उत्पादनको पकेट क्षेत्र हो। तर किसानले बजार पाएका छैनन्। भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले यसमा ध्यान दिइरहेको छ,' तिवारीले भने, 'कति स्थानमा यस्ता समस्या छन्? ढुवानीको समस्या के हो? समाधान के होला? ५ लाखभन्दा बढीको प्रोजेक्ट आएमा हामी तयार छौ।'
सहज च्यालेन्ज फन्डमा फागुन ६ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ।