PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन



सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन
फोटो : रत्न श्रेष्ठ/रासस

काठमाडौं : संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिड-१९ विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो।

छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। समितिले कोरोनाविरुद्धको खोप लगाउने ठाउँमा समेत भिडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ।

सभापति घर्तीले भनिन्, ‘पहिलो उपचार भनेको खोप नै रहेछ। त्यसकारण यो खोपलाई छिटोभन्दा छिटो जनतामा पुर्‍याउने र त्यसलाई भीडभाड कम गरिकन लगाउने व्यवस्था गरोस् भनेर समितिकोतर्फबाट निर्देशन दिन चाहन्छु। खोपलाई छिटोभन्दा छिटो सरल ढंगले जनताको बीचमा लैजाऔँ।’

त्यसैगरी, समितिले गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकाहरुलाई घरघरैमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन पनि सरकारलाई निर्देश गरेको छ। समितिले होल्डिङ सेन्टरहरु छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ।

बैठकमा समितिका सदस्यहरुले पीसीआर परीक्षणको काम स्थानीय सरकारले नै गर्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए। उनीहरुले कोभिड नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम जनताको घरदैलोमै पुगेर सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड परीक्षणलगायतको काम स्थानीय तहलाई दिने र संघीय सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औँल्याए। उनले सरकारले कोभिड नियन्त्रणका लागि स्वास्थ्य जनशक्तिको समेत परिचालन गर्न नसकेको भन्दै आपत्ति जनाए।

नेपाली कांग्रेसकी सांसद एवं पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कोभिड नियन्त्रणका लागि जनताको घरदैलोमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरिन्। उनले जनतालाई निःशुल्क पीसीआर परीक्षण गराउन पनि सरकारको ध्यानाकर्षण गराइन्। कतिपय ठाउँमा निजी क्षेत्रले जथाभावी शुल्क लिएर जनतालाई मारमा परेको उनको भनाइ थियो।

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिइएको र त्यसको सञ्चालन प्रदेश सरकारले गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए। उनले कोभिडविरुद्ध जनशक्ति परिचालन गर्न समस्या भएको भन्दै उनीहरुलाई भत्ता उपलब्ध गराउने काममा सहयोग गर्न समितिका सदस्यहरुलाई आग्रह पनि गरे। सचिव पोखरेलले सरकारले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell