PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मकवानपुरमा पछिल्लो ५ वर्षमा लागुऔषध ओसारपसारमा संलग्न १ हजार ७८ जना पक्राउ



मकवानपुरमा पछिल्लो ५ वर्षमा लागुऔषध ओसारपसारमा संलग्न १ हजार ७८ जना पक्राउ

हेटौँडा : पछिल्लो पाँच वर्षमा मकवानपुर प्रहरीले गाँजासहितको लागुऔषध ओसारपसार गर्ने १ हजार ७८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अधिकांश राक्सिराङ्ग गाउँपालिकाका छन्।

लागुऔषध ओसारपसारमा चेपाङ समुदायका व्यक्तिहरुको संलग्नता अधिक रहेको प्रहरीको भनाइ छ। चेपाङ समुदाय अशिक्षा, बेरोजगारी तथा भोकमरीको चपेटामा पर्दा लागुऔषध ओसारपसार कार्यमा संलग्न हुने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।

लागुऔषध ओसारपसार कार्यमा उनीहरु भरिया बन्ने गरेका छन्। जसकारण कैयौँ चेपाङहरु प्रहरीको फन्दामा परेर कारागारसम्म पुग्ने गरेको बताइएको छ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालका अनुसार मकवानपुरमा प्रहरीले आर्थिक वर्ष ०७३/०७४ मा २०३ जना, ०७४/०७५ मा २३७ जना, ०७५/०७६ मा २०६ जना, ०७६/०७७ मा १८७ जना, ०७७/०७८ मा १५१ जना र चालु आवको हालसम्म ९४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

तीमध्ये १०६ जना भारतीय रहेका छन् भने बाँकी ९७२ जना नेपाली नागरिक हुन्। त्यसमा पनि मकवानपुरको राक्सिराङ्ग र कैलास गाउँपालिकाका बासिन्दा बढी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले वर्षेनी सयौँ प्रहरी परिचालन गरेर राक्सिराङ्ग र कैलास गाउँपालिकाको गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको छ। तैपनि प्रहरीको गाँजा फडानी अभियान एउटा अभियानमा मात्रै सीमित भएको छ।

मकवानपुर प्रहरीले पछिल्लो पाँच वर्षमा जिल्लाको ३ हजार ४५ बिघा ४३ कट्ठामा लगाएको गाँजा फडानी गरेर नष्ट गरेको तथ्यांक छ। यद्यपि, वर्षेनी यसको उत्पादनको स्तर बढ्दै गएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार प्रहरीले आव २०७२/०७३ मा ८५८ बिघा ९ कट्ठा १० धुर, ०७३/०७४ मा ४१५ बिघा ६ कट्ठा ९ धुर, ०७४/०७५ मा ३९४ बिघा ९ कट्ठा, ०७५/०७६ मा ३४२ बिघा २ कट्ठा, ०७६/०७७ मा ५६३ बिघा १ कट्ठा, ०७७/०७८ मा ४६२ बिघा १ कट्ठा र चालु आवको हालसम्म १११ बिघा ५ कट्ठामा लगाएको गाँजा फँडानी गरेर नष्ट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell