PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एअर इन्डियाले रद्द गर्‍यो आजको अमेरिकी उडान : कारण ५ जी टेक्नोलोजी, अमेरिकामा पनि विरोध



एअर इन्डियाले रद्द गर्‍यो आजको अमेरिकी उडान : कारण ५ जी टेक्नोलोजी, अमेरिकामा पनि विरोध

काठमाडौं : अमेरिकाले विमानस्थल क्षेत्रमा ५ जी मोबाइल टेक्नोलोजी विस्तार गर्ने भएपछि एयर इन्डियाले अमेरिकाका लागि हुने नियमित उडान आज रद्द गरेको छ। विमानस्थल क्षेत्रमा ५ जी मोबाइल टेक्नोलोजी सेवा विस्तार गर्न लागेको कारण देखाउँदै उडान रद्द गरेको एयर इन्डियाले जनाएको छ।

मंगलवार ट्वीटरमार्फत एयर इन्डियाले उडान नहुने जनाएको हो। दिल्ली - न्युयोर्क, दिल्ली - सन फ्रान्सिस्को, दिल्ली - सिकागो, मुम्बई - न्युजर्सीको उडान सञ्चालन नहुने ट्वीटमा उल्लेख गरिएको छ। यसका साथै वासिङ्टनको उडानसमेत रिसेड्युल हुने बताइएको छ।

उडान रोक्नुपर्ने कारण के?

अमेरिकाले विमानस्थल क्षेत्रमा ५ जी मोबाइल टेक्नोलोजी छाड्ने भएपछि यस विषयमा विमान कम्पनीहरुले विरोध जनाउँदै आएको छ। यसरी विरोध जनाउनेमा अमेरिकी विमान कम्पनीहरुसमेत रहेका छन्। ५ जी टेक्नोलोजीले विमानको सञ्चार प्रणालीमा अवरोध आउन सक्ने एभिएसन कम्पनीहरुको भनाई छ। यही कारण देखाउँदै एयर इन्डियाले पनि अमेरिका उडान रोकेको हो। विमानस्थल वरपर ५ जी टेक्नोलोजी छाड्दा विमानमा समस्या आउन सक्नेसमेत बताइएको छ।

केही एयरलायन्सका प्रमुखहरुले अमेरिकन ट्रन्सपोर्ट सेक्रेटरीलाई चिठी नै लेखेर यसबारे ध्यानाकर्षण गराएको भारतीय सञ्चार माध्यम भास्करले जनाएको छ। उनीहरुले एभिएसन एक्विपमेन्टमा अपग्रेड नगरी ५ जी टेक्नोलोजी विस्तार गर्दा अप्ठेरो परिस्थिति सिर्जना हुने दाबी गरेका छन्। ५ जी टेक्नोलोजीले विमानको उचाई नाप्ने क्षमता प्रभावित हुन सक्ने बताइएको छ। त्यसैले उनीहरुले विमानस्थलको २ माइल वरपर यो सेवा विस्तार गर्न नहुने अडान राख्दै आएका छन्।

भेराइजन र एटी एन्ड टीले गर्‍यो ढिलाई

यसबारे एभिएसन कम्पनीहरुले चेतावनी दिए पछि केही मोबाइल सर्भिस कम्पनीहरुले यो सेवा रोकेका छन्। अमेरिकाका मुख्य सेवा प्रदायक टेलिकम्युनिकेसन कम्पनी भेराइजन र एटी एन्ड टीले मंगलवार मुख्य विमानस्थलहरुमा यो सेवा विस्तार नगर्ने जनाएको छ। बुधवारबाट यो सेवा विस्तार गर्ने तालिका थियो। सुरक्षाका कारण विमान कम्पनीहरुले चेतावनी दिएपछि यी कम्पनीले सेवा विस्तार रोकेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

अमेरिकी विमानस्थलहरुमा ५ जी सेवा विस्तारले हजारौं उडान प्रभावित हुन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell