PahiloPost

Jul 3, 2024 | २० असार २०८१

धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, पाँच जना पक्राउ



धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, पाँच जना पक्राउ

जनकपुरधाम : धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ। बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको हो।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति प्रहरीले लुटेरालाई नियन्त्रणमा लिएपछि आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमणबाट असई पोखरेल घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

महोत्तरीको भँगाहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट फर्किदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल सहितका सामान लुटपाट गरेका थिए। लुटपाट लगत्तै असई पोखरेल सहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेपछि उनीमाथि आक्रमण भएको हो।

लुटपाट तथा प्रहरीमाथि आक्रमण गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रवि दास रहेको धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

घटनाका मुख्य आरोपी स्थानीय रामजीवन ठाकुरको साथबाट लागुऔषध नाइटरोभेट ट्याब्लेट र चक्कु बरामद भएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell