PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुपन्देही क्रिकेट संघमा व्यवसायी थापाको 'क्लिन स्विप' : शक्ति गौचन २४ मतान्तरले पराजित



रुपन्देही क्रिकेट संघमा व्यवसायी थापाको 'क्लिन स्विप' : शक्ति गौचन २४ मतान्तरले पराजित

बुटवल : क्रिकेटर शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर गौचनलाई पराजित गर्दै संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन्।

बुधवार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट गौचनलाई २४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन्। ११० जना मतदाता रहेको रुपन्देही क्रिकेट संघमा १०५ मत खसेको थियो। जसमध्ये थापाले ६४ मत प्राप्त गरे भने, गौचनले ४० मतमात्र।
संघको उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन्। उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरे।

निर्वाचनमा प्यानल नै बनाएर दुवै टिम निर्वाचनमा होमिएका थिए। क्रिकेट पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्। संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन्। सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भएका छन्।

नेपाली क्रिकेट इतिहासका सफल क्रिकेटर गौचनले सन् २०१८ मा नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी गत वर्ष अगष्टमा नेदरल्यान्ड्समा भएको नेपालको पहिलो ऐतिहासिक ओडिआई खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत बिदा भएका थिए।

नेपालले २००२ देखि २०१८ सम्म हात पारेका सफलतामा शक्तिको योगदान निकै महत्त्वपूर्ण थियो। शक्तिले २०१२ मा युएईमा भएको टी २० विश्वकप छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक लिएका थिए। त्यसै वर्ष शक्तिले डिभिजन फोरमा मलेसियाविरुद्ध १० ओभरमा ८ मेडनसहित २ रन खर्चेर ३ विकेट लिँदै विश्व कीर्तिमान राखेका थिए। जुन बायाँ हाते अर्थोडक्स स्पिनरले सीमित ओभरमा गरेको सबैभन्दा कम इकोनमीको प्रदर्शन हो। २०१४ को टी २० विश्वकपमा पनि शक्तिले उत्कृष्ट प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell