PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

चुनावी मुद्दालाई दलीय स्वार्थबाट हेर्न नहुने बाबुरामको भनाई : बिरालो बाँधेर श्राद्ध गरिरहने?



चुनावी मुद्दालाई दलीय स्वार्थबाट हेर्न नहुने बाबुरामको भनाई : बिरालो बाँधेर श्राद्ध गरिरहने?

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचनको मुद्दालाई दलीय स्वार्थबाट हेर्न नहुने बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले दलहरुबीच निर्वाचनबारे रस्साकस्सी चलिरहेको बेला सामाजिक सञ्जालमा यस्तो भनाई राखेका हुन्।

शनिवार आफ्नो ट्वीटरमा बाबुरामाले तीनै तहको निर्वाचनको कार्यकाल यही वर्ष सकिन लागेको उल्लेख गर्दै ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु उपयुक्त नहुने तर्क पेश गरेका छन्।

'चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं। मुख्य मुद्दा यो हो : ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ, असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष१०महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला?' उनले थप प्रश्न गरेका छन्, 'बिरालो बाँधेर श्राद्ध गरिरहने?'

निर्वाचन आयोगले चुनावका लागि दल र सरकारलाई दुई मिति प्रस्ताव गरिसकेको अवस्था छ। आयोगाले एकै चरणमा वैशाख १४ गते र दुई चरणमा गर्ने अवस्था भए वैशाख १४ र २२ गतेको मिति प्रस्ताव गरेको छ। प्रस्तावित मितिमा दलहरुले प्रश्न उठाएका छन्। साथै निर्वाचित जनप्रतिनिधिको कार्यकालबारे व्याख्या चलिरहेको छ।

संविधान र कानुन एउटै छ तर निर्वाचन आयोगदेखि दलहरुले गर्ने व्याख्या फरक फरक छन्। व्याख्याबारे कानुन व्यवसायी समेत विभाजित छन्।

संविधान/कानुनले निर्वाचनका सम्बन्धमा गरेको व्यवस्था आफू अनुकूल व्याख्या गरिरहेका दलहरु अझै पनि निष्कर्षमा पुगेका छैनन्। स्थानीय तह चुनाव कहिले गर्ने? प्रतिनिधि सभाको ‘अर्ली इलेक्सन’ गर्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्नेजस्ता विषयमा सत्तारुढ गठबन्धन रुमलिएको छ। संवैधानिक र कानुनी विषय राजनीतिक लाभ–हानीको छिनोफानोमा अल्झिएपछि स्थानीय तहको निर्वाचन संकटउन्मुख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell