काठमाडौं : नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन्। चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै पुनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे।
उनले सकेसम्म सहमतिमै आफू महासचिव हुनेसमेत बताए। सहमति नजुटे आफू प्रक्रियामा गएर प्रतिस्पर्धा गर्नसमेत तयार रहेको पुनको भनाई थियो।
नेता पुनले भने, 'सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ। मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ।'
एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए। पूर्वमन्त्री पुनले भने,'प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेको छ, जिम्मेवार राजनीतिक दलका रुपमा त्यसमा उसले पुनः विचार गरोस्। लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस्।' नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफ्नो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापनसमेत गरे। रासस