PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पैसा तिर्न क्यूआर कोड स्क्यान गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोस् यी चार कुरा



पैसा तिर्न क्यूआर कोड स्क्यान गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोस् यी चार कुरा

क्यूआर (क्विक रेसपोन्स) कोड प्रयोगमा आएको धेरै समय भइसकेको छ। अझ कोभिड-१९ पान्डेमिकको समयमा झन ‘क्यासलेस’ भुक्तानीको लागि यसको उपयोगिता बढेको छ।

क्यूआर कोड भनेको एक प्रकारको वर्गाकार बारकोड हो जसलाई हाम्रो स्मार्टफोनको क्यामेराबाट स्क्यान गरेर अनलाइन भुक्तानी गर्न, छिटो वेबसाइट एक्सेस गर्न, एपहरु डाउनलोड गर्न तथा रेस्टुरेन्टहरुमा मेनु हेर्न समेत सकिन्छ। फोन नम्बर, इमेल लगायतका सूचना र डाटाहरु सेयर गर्न तथा पैसा ट्रान्सफर गर्न समेत क्यूआर कोडको प्रयोग बढिरहेका बेला आपराधिक मानसिकता भएका व्यक्तिहरुले यसको गलत प्रयोग गरी ठगी गर्ने गरेका छन्।

केही समयअघि मात्रै अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले ‘साइबर क्रिमिनलहरु’ले क्यूआर कोडको प्रयोग गरेर मानिसहरुलाई ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराएको थियो। क्यूआर कोड स्क्यान गर्दा ध्यान दिनुपर्ने यी हुन् महत्वपूर्ण कुराहरु:

वेबसाइटको यूआरएल चेक गर्ने

क्यूआर कोड स्क्यान गरेर विभिन्न वेबसाइट सजिलै एक्सेस गर्न सकिन्छ। यसो गर्दा ब्राउजरमा गएर वेबसाइटको नाम (यूआरएल) टाइप गर्न नपर्ने भएकाले धेरै वेबसाइटहरुले ग्राहक वा युजरको लागि क्यूआरकोड उपलब्ध गराएका हुन्छन्। यस्तोमा क्यूआर कोडले कुन वेबसाइटमा ‘रिडिरेक्ट’ गर्‍यो, त्यसको ख्याल गर्नुपर्छ। कुनै फेक वा भाइरस भएको (मालिसियस) वेबसाइट पनि हुन सक्छ। वेबसाइटको यूआरएल ठीक छ या छैन भन्ने यकिन गरेर मात्रै थप कदम चाल्नु उपयुक्त हुन्छ।

त्यस्तै, विभिन्न टुल/एपहरुको प्रयोग गरेर छोटो पारिएको यूआरएल छ भने त्यस्तो वेबसाइटमा कुनै भुक्तानी गर्ने वा आफ्नो व्यक्तिगत सूचना राख्ने काम गर्नु हुँदैन। छोटो पारिएको यूआरएलमा वास्तविक वेबसाइटको नाम हुँदैन।

क्यूआर कोड प्रयोग गरेर एप डाउनलोड नगर्ने

क्यूआर कोडको प्रयोग गरेर सकेसम्म एपहरु डाउनलोड नगर्दा बेस हुन्छ। किनकी कुनै एपहरुमा भाइरस हुन सक्छ जसले स्मार्टफोनबाट तपाईँको व्यक्तिगत सूचना चोरी गर्न सक्छ। एपहरु डाउनलोड गर्दा जहिले पनि ‘डेडिकेटेड एप्लिकेसन स्टोर’हरु जस्तै एन्ड्रोइडमा ‘प्ले स्टोर’ वा आइफोनमा ‘एप स्टोर’बाट गर्नु उपयुक्त हुन्छ।

क्यूआर कोड स्क्यान गरी खुल्ने वेबसाइटमा भुक्तानी नगर्ने

रकम भुक्तानी गर्न क्यूआर कोड स्क्यान गर्दा वेबसाइट खुलेमा त्यस्तो वेबसाइटमा भुक्तानी गर्नु हुँदैन। क्यूआर कोड स्क्यान गरेपछि सिधै भुक्तानी गर्ने एप (ईसेवा, खल्ती, आइएमई पे आदि) वा बैंक एकाउन्ट विवरण खुल्नुपर्छ जसमा पैसा पाउने व्यक्तिको विवरण उल्लेख गरिएको हुन्छ। वेबसाइटबाट नै भुक्तानी गर्नुपर्ने भए आफैँले सो वेबसाइटको यूआरएल ब्राउजरमा टाइप गर्नु उपयुक्त हुन्छ।

‘पैसा पाउन’ कहिल्यै क्यूआर कोड स्क्यान नगर्ने

यो कुरा याद गर्न आवश्यक छ कि, क्यूआर कोड स्क्यान गर्ने भनेको जहिले पनि पैसा तिर्न मात्रै हो पैसा पाउन होइन। पैसा पाउन तथा उपहार पर्‍यो भन्दै कसैले पठाएको मेसेज वा इमेलमा भएको क्यूआर कोड कहिल्यै पनि स्यान गर्नु हुँदैन। त्यसबाट ‘साइबर क्रिमिनलहरु’को ठगीमा पर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell