PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

नोबेल मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले गर्‍यो भर्त्सना



नोबेल मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले गर्‍यो भर्त्सना

काठमाडौं : विराटनगरस्थित नोबेल मेडिकल कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले भर्त्सना गरेका छन्। संयुक्त विद्यार्थी संगठनले प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले आन्दोलनरत विद्यार्थीमाथि कलेजले दुर्व्यवहार गरेको बताएका हो।

सोमवार विद्यार्थीहरूले अतिरिक्त शुल्क लिएको विरोधमा नोबेल कलेज प्रशासनविरुद्ध शान्तिपूर्ण सिट्ठी जुलुस निकालेका थिए। सोही क्रममा प्रशासनले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते भएको बताइएको छ। ताजिम अन्सारी, दीपेन्द्र मेहता, टेकेन क्षेत्री, उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा लगायत विद्यार्थी नेताहरु घाइते भएका हुन्।

शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासनले दुर्व्यवहार गरेपछि थप आन्दोलन चर्काउने संगठनले चेतावनी दिएको छ। साथै, संगठनले देशैभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार, नागरिक समाज लगायत सबैलाई आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल समेत गरेको छ।

चिकित्सा शिक्षा आयोगले तोके अनुसार एक वर्षको १३ लाख ४१ हजार ८३ रुपैयाँ तिर्नुपर्ने हुन्छ। साथै, आयोगको निर्णयमा होस्टेल/मेस विद्यार्थीको लागि ऐच्छिक हुने भनेको छ। तर, मेडिकल कलेजहरुले अत्तिरिक्त शुल्क लाग्ने र होस्टेल/मेस अनिवार्य हुने भनेपछि यो विवाद चर्किएको हो। पीडित विद्यार्थीलगायत विगत डेढ महिनादेखि आन्दोलनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell