PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

आज राष्ट्रिय सभाको निर्वाचन : १९ पदका लागि ४३ उम्मेद्वार मैदानमा, सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा



आज राष्ट्रिय सभाको निर्वाचन : १९ पदका लागि ४३ उम्मेद्वार मैदानमा, सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रिय सभा सदस्यको १९ रिक्त पद चयनका लागि आज मतदान हुँदैछ। निर्वाचनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेद्वार चुनावी मैदानमा छन्। बिहान ९ बजेबाट तोकिएका मतदान केन्द्रमा मतदान शुरु हुने कार्यतालिका रहेको छ।

रिक्त पदका लागि सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश १ मा तीन पदको लागि आठ जना चुनावी प्रतिस्पर्धामा छन्। गठबन्धन नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाट तीन, नेकपा (एमाले)बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेद्वार छन्।

राष्ट्रियसभा सदस्यको अन्यतर्फ गठबन्धनबाट कांग्रेसका गोपाल बस्नेत, एमालेका गुरु बराल र राप्रपाका अम्बरबहादुर विष्ट तथा महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई, एमालेकी सुमित्रा भण्डारी र राप्रपाकी रन्जु प्याकुरेलको मनोनयन परेको छ।

अल्पसंख्यकतर्फ गठबन्धनबाट जसपाका हेमराज राई थुलुङ र एमालेका सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी दिएका छन्।

त्यस्तै, मधेश प्रदेशमा दुई पदका लागि ४ दलबाट ५ जनाको उम्मेद्वारी परेको छ। गठबन्धनबाट माओवादी केन्द्र र जसपाका १/१ जना तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

गठबन्धनबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल चुनावी मैदानमा छिन्। यस्तै, जसपाबाट अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी उम्मेद्वार हुन्।

लोसपाबाट महिलातर्फ रूपा यादवले उम्मेद्वार हुन्। एमालेबाट महिलातर्फ बिना देवी साह र अन्यतर्फ उस्मान अन्सारी चुनावी मैदानमा छन्।

त्यसैगरी, वाग्मती प्रदेशमा ६ जनाको उम्मेद्वारी परेको छ। दुई जना सदस्यको लागि हुने निर्वाचनका लागि ६ जनाले मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ता गर्नेमा एमालेबाट महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर र अन्यतर्फ ललितपुरका गोपाल शाक्य छन्। त्यस्तै, गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमिल्सिनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टीबाट अन्यतर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले पनि उम्मेद्वारी दिएका छन्।

लुम्बिनी प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। गठबन्धनबाट कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका ३ जना र एमालेका तीन जनाको उम्मेद्वारी परेको हो।

गठबन्धनबाट अन्यतर्फ कांग्रेसका युवराज शर्मा, महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा चुनावी मैदानमा छन्। एमालेबाट दलिततर्फ कृष्ण सुनार, महिलातर्फ भारती उपाध्याय खनाल र अन्यतर्फ रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्।

यस्तै, गण्डकी प्रदेशमा तीन पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये तीन एमालेका, दुई माओवादी केन्द्र र कांग्रेसका एक जना छन्।

निर्वाचनका लागि एमालेबाट दलिततर्फ अर्जुन कुमार सुनाम, अन्यतर्फ पुण्यप्रसाद पौडेल र महिलातर्फ लीला थनेतले उम्मेद्वारी दर्ता गराएका छन्। गठबन्धनबाट दुई सिटमा माओवादी र एक सिटमा कांग्रेसले उम्मेद्वारी दिएका छन्। माओवादीका सुरेश आलेमगर अन्यतर्फ र भुवन सुनार दलिततर्फ उम्मेद्वार छन्। त्यस्तै, कांग्रेसबाट महिलातर्फ कमला पन्त उम्मेद्वार छिन्।

यसैगरी, कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाको चुनावी मैदानमा छन्। जसमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी)का ३ र एमालेका ३ जना छन्।

गठबन्धनबाट अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट, महिलातर्फ कांग्रेसका दुर्गाकुमारी गुरुङ र अन्यतर्फ एकीकृत समाजवादीका उदयबहादुर बोहोराले उम्मेद्वारी दर्ता गराएका हुन्। यस्तै, एमालेबाट अन्यतर्फ चुडामणि शर्मा, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ पदमबहादुर माझी र महिलातर्फ गंगा थापा महतले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा रोजेन्द्रकुमार आचार्यले जानकारी दिए।

यता, सुदूरपश्चिममा ३ पदमा हुने निर्वाचनका लागि ६ जना चुनावी मैदानमा छन्। एमालेबाट ३ र संयुक्त गठबन्धनबाट ३ जना गरी ६ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

गठबन्धनका तर्फबाट महिला सदस्यमा एकीकृत समाजवादीकी गरिमा शाह, दलित सदस्यमा माओवादी केन्द्रका जगत पार्की र खुला सदस्यमा नेपाली कांग्रेसका नारायण मिश्रले उम्मेद्वारी दर्ता गराएका हुन्।

एमालेबाट महिलामा सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ नरेश विक र खुल्लातर्फ डिल्लीराज भट्ट चुनावी मैदानमा छन्।

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell