कैलाली : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान जारी छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेश सभा भवनमा मतदान सुरु भएको हो। मतदान दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए। मतदानका लागि प्रदेश सभाभित्रै स्थानीय र प्रदेश तर्फका गरी दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए।
सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्ट चुनावी दौडमा छन्। गठबन्धनबाट नेपाली काँग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट गरिमा शाह छन्। प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।