काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठक डाकेका छन्। कोरोना संक्रमणका कारण बैठक भर्चुअल रुपमा बस्ने कांग्रेसले जनाएको छ।
शुक्रवार ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनलाई एजेन्डा बनाइएको छ। बैठकमा आउँदो निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने भए पनि सरकारले अहिलेसम्म निर्वाचनको मिति तोक्न सकेको छैन। निर्वाचन आयोगले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई ताकेता गरिरहेको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकैसाथ गर्ने कि भनेर अलमलमा परेको छ।
संविधान र स्थानीय तह निर्वाचन एन २०७३ बाझिएको भन्दै सत्तारुढ दलका नेताहरुले कानुन व्यवसायीहरुसँग सुझावसमेत लिएका थिए। यसैबारेमा कांग्रेस केन्द्रीय समितिमा छलफल हुने बताइएको छ।
कांग्रेसमा स्थानीय तहको निर्वाचन पहिले हुनुपर्ने आवाज बाक्लो रुपमा उठिरहेको छ। एकैसाथ निर्वाचन हुँदा कांग्रेसलाई घाटा हुने उल्लेख गर्दै डा शेखर कोइराला समूहले दबावसमेत सिर्जना गर्दै आएको छ।