PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते



बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते

मलङ्गवा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्।

सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन्। उनलाई लालबन्दीस्थित  गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइते सोही अस्पतालमा उपचार भइरहेको छ। एक जनालाई सिरहातर्फ  सिफारिस गरिएको प्रहरीले जनाएको छ। अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell